
निर्देशक बिधान कार्की लाई रोशनी अन्तराष्ट्रिय फिल्म्स अवार्ड

साउन ६ काठमाण्डौ, भारतको महाराष्ट्र राज्यको औरंगावादमा आयोजित दोश्रो रोशनी रिल्स अन्तराष्ट्रिय शर्ट फिल्म फेस्टिभल-२०२१ मा “केटो अलि कमाउने होस्” गीतको भिडियोले उत्कृष्ट म्युजिक भिडियो कन्सेप्टको अवार्ड जितेको छ । उक्त फेस्टिभलमा विश्वका करिब १०० भन्दा बढी म्युजिक भिडियोहरु प्रतिस्पर्धामा छानिएका थिए । भिडियोले नेपालबाट प्रतिनिधित्व गर्दै आफ्ना ४ बलिया बिदेशी प्रतिस्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गरी अवार्ड जित्न सफल भएको हो ।
यो विधामा संयुक्त राज्य इमिरेट्सका सहीद रहमानले दोश्रो स्थान प्राप्त गरे भने भारतका लखन सोनवानेले तेश्रो, बृजेश मुरलिधरणले चौथो र अरुण बब्शाले पाचौं स्थान हासिल गरेका छन् । फिल्म एडुकेसन र वेलफेर फाउनडेशन ए बढले आयोजना गरेको फेस्टिभलमा भारत, लेबनान, हंगकंग, नर्वे, स्वीडेन लगायतका प्रतिष्ठित फिल्मकर्मीहरु निर्णायक मण्डलमा रहेका थिए । गीतका संगीतकार अर्जुन पोखरेल हुन् भने गीतकार दिग्गज धौराली हुन् । सुधिर श्रेष्ठ, श्रेया सिटौला, अजय श्रीज र अस्मिता अधिकारीले अभिनय गरेको भिडियोको गीतमा सुनिल कटुवाल र समिक्षा अधिकारीको स्वर रहेको छ । भिडीयोलाई बिशाल इन्टरटेनमेन्टको निर्माण, सुनील कटवाल र नेप्सिनेको सहकार्य रहेको छ।