
‘किम्ची’ लाई लिएर चीन र कोरियाबीच विवाद
भदौ ११, सीएनएन । कोरियाको प्रत्येक घरमा हुने र विश्वभरका रेस्टुरेन्टहरुमा समेत ‘किम्ची’ को नामले चिनिने दक्षिण कोरियाली राष्ट्रिय परिकार यतिबेला दुई देशबीच ठूलो विवादको विषय बनेको छ । किम्चीकै कारण चीन र दक्षिण कोरियामा सांस्कृतिक लडाईँ सुरु भएको हो ।
दक्षिण कोरियाले आफूहरुको परम्परागत किम्ची लाई सबैतिर त्यही नामले बोलाउनु पर्नेमा जोड दिँदै आएको छ । र चीनमा बनाइने काँचो सब्जीको अचारलाई फरक नाम दिएर दुवैलाई छुट्याउन भन्दै आएको छ । तर चीनमा चिनियाँ नागरिकहरु माझ परिचित नामका उत्पादन मात्र आयात गरिने हुनाले किम्चीलाई पनि काँचो सब्जीले बनाइएको चिनियाँ अचार, “पाओ शिए’ कै नाम दिइँदै आएको थियो ।
यस्तोमा दक्षिण कोरियाको संस्कृति मन्त्रालयले नोटिस नै जारी गर्दै उपयुक्त विदेशी भाषा सम्बन्धी निर्देशन परिमार्जित गराएको हो । त्यसैले अहिले चीनको किम्ची जस्तै अमिलो पारिएको सब्जीका लागि भनेर कोरियाले आधिकारिक चिनियाँ नाम, “जिन्छी’ राख्न भनेको छ । सुन्दा किम्ची जस्तै सुनिने यस नामले दक्षिण कोरियाको परम्परागत खानेकुरा किम्ची र चिनियाँ परिकारबीचको अन्तर स्पष्ट पार्ने अपेक्षा रहेको कोरियाली सरकारले बताएको छ । यही मुद्दामा दुवै देशका नागरिकहरुमा लामो समयसम्म चर्को अनलाइन बहस चलेको थियो ।
२०१३ मा पनि चीनमा उत्पादित किम्ची विदेशी बजार सहित कोरिया भित्रै व्याप्त हुन थालेपछि कोरियाको कृषि मन्त्रालयले चीनलाई किम्चीको नयाँ नाम राख्न सुझाव दिएको थियो । कोरियाले किम्चीको व्यापारमा २००६ देखि नै चीनसँगको प्रतिस्पर्धाका कारण गिरावट भोग्नु परिरहेको थियो । चिनियाँ अध्ययन सम्बन्धी लेक्चरर एलेन छङ भन्छिन्, “किम्ची दक्षिण कोरियाको राष्ट्रिय खानेकुरा हो । सबै किसिमको खानामा सेवन गरिने किम्ची कोरियालीहरुका लागि मात्र नभएर विश्वमै सबैभन्दा परिचित कोरियन खानेकुरा हो । अझैपनि पश्चिममा धेरैले कोरियाको किमबाप र जापानी सुसी छुट्याउन सक्दैनन् तर किम्चीलाई जोसुकैले पनि चिन्दछ ।”
२०२० मा चीनले सिचुआन ‘पाओ शिए’ का लागि आइओएस सर्टिफिकेट प्राप्त गरेको थियो । यसपछि चिनियाँ राष्ट्रिय मिडिया ग्लोबल टाइम्सले प्रकाशित गरेको एउटा लेखमा ‘सिचुआन पाओ शिए अहिले खाद्य उद्योगकै अन्तराष्ट्रिय स्तरमा पुगेको दाबी गरिएको थियो । उक्त लेखमा भनिएको थियो, “किम्ची भनिने पाओ शिए लामो समयदेखि नाम मात्रमा जिवित थियो । ”
यसैपछि दक्षिण कोरियाले चीनले आफूहरुको संस्कृति र किम्ची दुवैको चोरी गर्ने प्रयास गरिरहेको भनेर आक्रोश जनाएको थियो । यसले देशभर चीन विरोधी भावना पैदा गराएको थियो र केही समयसम्म मानिसहरुले चिनियाँ उत्पादन बहिस्कार समेत गरेका हुन् ।