
अफगानिस्तानका मन्त्री जर्मनीमा ‘डेलिभरी ब्वाइ’को काम गर्छन् ।
एजेन्सी, अफगानिस्तानका पूर्व सञ्चारमन्त्री सयेम सादात दुई वर्षसम्म मन्त्री पदमा रही सादातले सन् २०१८ मा आफ्नो पदबाट राजीनामादिएर भविष्यको खोजीमा जर्मनी गएका थिए ।
जर्मनीको पूर्वी सहर लेइपजिगमा पुगेका उनी ‘डेलिभरी ब्वाइ’को काम गरिरहेका छन् ।
अफगानिस्तानको मन्त्री भइसकेको मान्छे ‘डेलिभरी ब्वाइ’को काम गरेको भन्दै उनले निकै आलोचना पनि खेप्नु परेको थियो।
तर उनी सबै रोजगारी समान हुने बताउँछन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा ४९ वर्षीय सादातले भने, ‘मलाई यो काम गर्दा कुनै नराम्रो लागेको छैन ।’ ‘मलाईआशा छ, अन्य राजनीतिज्ञले पनि यही बाटो समात्नेछन् । लुकेर बस्नुभन्दा आम नागरिकसँग काम गर्नु बेस् ।’
अहिले अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै त्यहाँको अवस्था पनि अस्तव्यस्त बनेको छ । धेरै मानिस मुलुक छाड्न चाहन्छन् ।सादातको परिवार र साथीहरु अफगानिस्तान छाड्न चाहन्छन् । अहिले सञ्चालन भइरहेको उद्धार उडानमा सामेल हुन चाहन्छन् ।
अमेरिकाले आफगानिस्तानबाट आफ्नो सेना फिर्ता लैजान थालेसँगै यसवर्ष जर्मनीमा पनि आश्रय खोज्ने अफगानिस्तानका शरणार्थीबढेका छन् । जर्मनीको आप्रवासी तथा शरणार्थी कार्यालयको तथ्यांकअनुसार यो संख्या यस वर्ष १३० प्रतिशतले बढेको छ । तरजर्मनीमा आश्रय पाइहाले पनि जिविका चलाउन सहज छैन । त्यसको प्रमाण सादात आफैं हुन् ।
सूचना प्रविधि र दूरसञ्चारमा मास्टर्स डिग्री हासिल गरेका सादातले जर्मनीमा आफूले अध्ययन गरेको विषयमा काम पाउने अपेक्षा गरेकाथिए । तर जर्मन भाषा नजानेको कारण काम पाउन कठिन भयो । बेलायती नागरिकता बोकेका उनी अहिले दैनिक चार घण्टाको जर्मनभाषाको कक्षा लिन्छन् । त्यसपछि ६ घण्टा खाना डेलिभरी गर्ने काम गर्छन् ।
त्यसो त उनलाई सुरुवाति दिनमा जर्मनीमा साइकल चलाउन पनि सहज भएन । ‘सुरुआती दिनहरु उत्साहप्रदका साथै निकै कठिन थिए’, सादात भन्छन्, ‘तपाईँ जति धेरै बाहिर जानुहुन्छ, जति धेरै मानिससँग भेट्नुहुन्छ, सिक्ने अवसर पनि त्यति नै धेरै हुन्छ ।’