
युक्रेनमा रहेका १९३ जना नेपाली जर्मन स्थित नेपाली दुतावासको सम्पर्कमा

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं। युक्रनेमा रहेका १९३ जना नेपाली जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्। सम्पर्कमा आएका सबैनेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ।
‘दूतावासमा सम्पर्कमा आउनुभएका १९३ जना नेपाली नागरिकहरु हालसम्म सुरक्षित हुनुहुन्छ,’ जर्मनीस्थित नेपाली दूतावासले जारीगरेको विज्ञप्तिमा भनिएको छ। युक्रेनमा उत्पन्न पछिल्लो संकटपछि त्यस मुलुकका विभिन्न सहरमा रहेका नेपाली नागरिकहरुको स्थितिसम्बन्धमा थप जानकारी हासिल गर्ने कार्य निरन्तर भइरहेको दूतावासले जनाएको छ।
रुसले बिहीबारबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि त्यहाँ रहेका नेपालीको खोजी गर्न थालिएको हो। दूतावासले यसअघि स्थायीरुपमा बसोबास गर्दै आएको ३८ जना र युरोप र अमेरिका जाने क्रममा करिव दुई सय नेपाली युक्रेनमा रहेको बताएको थियो। तीमध्ये१९३ जना दूतावासको सम्पर्कमा आएका हुन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भने युक्रेनमा करिव ४ सय नेपाली रहेकोजनाएको छ।