Banner

विद्यालय भवन भत्किएपछि चौरमा पठनपाठन

 

मकै हाउस टिभी एण्ड न्युज,

चैत ५, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका(२ स्थित लुलाङ आधारभूत विद्यालयका बालबालिका चौरमा बसेर पढ्नुपर्ने बाध्यता छ ।

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएर जीर्ण बनेका कारण बालबालिका खुला चौरमा बसेर पढ्न बाध्य भएका हुन् । विद्यालयका प्रअ नागेन्द्र ठाकुरले दुईकोठे भवन भत्किएको र चारकोठे अर्को भवन जीणर् बनेकाले पठनपाठनमा समस्या भएको बताए । ‘गत असोजमा कक्षा ६ र ७ को भवनको पर्खाल भत्किएको थियो’, उनले भने, ‘कार्यालय र दुई कक्षाकोठा भएको अर्को भवनको पर्खाल पनि बाङ्गिएको छ । भवनमा पढाउँदा जोखिम बढेपछि खुला चौरमा पठनपाठन गराउनु परेको हो ।’

भिरालो पाखो सम्याएर फरक(फरक ठाउँमा बनाइएको विद्यालयको भवन र खेलमैदान संरक्षणका लागि निर्माण भएको ग्यावियन पर्खाल पनि भत्किएको छ । भत्कने अवस्थाको जीर्ण भवनमा जोखिम, चौरमा धुलो र गर्मीले सताउने गरेको कक्षा ७ की विद्यार्थी प्रतिक्षा रसाइलीले बताइन् । ‘चर्किएर बाङ्गिएको भवनको पर्खाल कुनबेला भत्किन्छ भन्ने डर छ । भवनको जोखिमयुक्त अवस्थाले शैक्षिक वातावरणमा असर पुगेको छ, वर्षात् हुँदा पठनपाठन बन्द गर्नुपर्ने अवस्था छ,’ उनले भनिन् । विद्यार्थीका झोला, पुस्तक, कापी भिज्ने गर्छ । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा २३५ विद्यार्थी छन् । यो आधारभूत तहमध्ये गाउँपालिकामा सबैभन्दा धेरै विद्यार्थी संख्या भएको विद्यालय हो ।

गत वर्ष तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा दुईकोठे ट्रस र खानेपानी तथा सरसफाइसहितको छात्रामैत्री शौचालय निर्माण गरिएको थियो । यसबाहेक अन्य चारमध्ये दुई भवन जीर्ण छन् । नयाँ भवन निर्माणका लागि गाउँपालिका, शिक्षा विकास तथा समन्वय एकाइलगायत निकायमा प्रस्ताव गरिएको प्रअ ठाकुरले बताए । सो विद्यालयको ६(८ तह निजी स्रोतबाट सञ्चालन गरिएको छ । प्रवासबाट आउने लाहुरेलाई स्वागत, विवाह, किरिया, छेवार, गुन्युचोली देखाउने जस्ता संस्कारगत कार्यमा नाचगानका साथै चन्दाबाट निजी स्रोतका शिक्षकको तलब भत्ता जुटाइने गरिएको छ । लुलाङका वडाध्यक्ष गमप्रसाद विकले विद्यालय भवन निर्माणका लागि पहल गर्ने बताए । ‘नयाँ भवन निर्माणको आवश्यकता छ’, उनले भने, ‘गाउँपालिकामार्फत भवनको समस्या समाधानका लागि पहल गरेको छु ।’ रासस

 

 

Loading...