Banner

अष्ट्रेलियामा २८ औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाउँदै।

 

 

मकै हाउस टिभी एण्ड न्युज, राजु तामाङ

सिड्नी । अष्ट्रेलियाको सिड्नी सहरमा २८ औं विश्व आदिवासी दिवस विविध सांस्कृतिक कार्यक्रमका साथ मनाउने भएको छ।

 

साउन महिनाको २४ गते पर्ने २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा नेपाली आदिवासी जनजाति मञ्च, अष्ट्रेलियाको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो।

संयुक्त राष्ट्र संघले यसवर्ष आदिवासी ज्ञानको संरक्षण र पुस्तानतरणमा महिलाको भुमिका बारे उच्च प्राथमिकतामा राखेको छ । यही नारालाई जोड दिदैं विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरी दिवसलाई मनाउन लागेको मञ्चका अध्यक्ष अरुण कुमार तामाङले जानकारी दिनु भयो।

अष्ट्रेलियाको आदिवासी महिला मन्त्री होन लिन्डा बर्नीको प्रमुख आतिथ्यतामा हुने उक्त साँस्कृतिक कार्यक्रममा नेपालबाट आउने राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहने आयोजकले बताए।

नेपालमा तामाङ समुदायको मौलिक भाषा, सभ्यतामा दर्जनौं गीत साहित्य, संगीत र परम्परागत खानपान संस्कृतिको विषय छानेर कलम चलाउदै सभ्यताको उचाइ रचेका युगिन ढाक्रे पुर्खाका पाइला पछ्याउने, तामाङ साहित्यिक संस्था तामाङ डाजाङका अध्यक्ष चर्चित गीतकार तथा सेलो गायक फूल कुमार बम्जन, र लिम्बू समुदायको चर्चित गायिका मनु नेम्वाङले आफ्नो प्रस्तुति दिने भएको छ।

कार्यक्रममा सहभागी हुन नेपालबाट पाहुना कलाकारको टोली अष्ट्रेलिया प्रस्थान गरिसकेको छ । कार्यक्रम अगष्ट ६ तारिख साँझ ५ बजे अष्ट्रेलियाको मिराकवेल टाउन हलमा आदिवासी खाना, आदिवासी नृत्य लगायत अन्य विभिन्न कार्यक्रमहरुका साथ आयोजना हुदैछ।

 

 

Loading...