Banner

टेक्सासमा मगर संघ अमेरिकाको आठौ ऐतिहासिक साधारणसभा सम्पन्न ।

 

मकै हाउस टिभी एण्ड न्युज, वीर घर्ती मगर
न्युयोर्क । अमेरिकाको मुलप्रबाहमा मगरहरुको उपस्थिति र सहभागिता – उदाउँदो मगर पुस्ता माझ मगर भाषा, संस्कार र संस्कृति हस्तान्तरण आजको आवश्यकता ” भन्ने मुल नारा सहित मगर संघ अमेरिका केन्द्रीय समितिको आठौं बार्षिक साधारणसभा टेक्सास राज्यको डलास शहरमा आईतबार अगस्ट ६ मा सम्पन्न भएको छ । कार्यक्रमको सुरूवात केन्द्रिय मगर संघ र छ वटा राज्यहरूको मगर संघ च्याप्टर कमिटीहरुबाट मगर मौलिक झाँकी र र्‍याली सहित सभाहलमा प्रवेश गरी भएको थियो । प्रमुख अतिथि नेपाल आदिवासी जनजाती अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मन बहादुर राना मगर र टेक्सास राज्य युलेस सिटीका काउन्सिल मेम्बर टीका पौडेलले कार्यक्रमको समुदघाटन गर्नुभएको थियो ।

एक दशक अघिदेखि मगर समुदाय माझ चर्चाको बिषय रहेको मगर आपतकालीन कोषलाई पहिलो चरणमा पचास हजार डलर कोष खडा गरी अगाडी बढाईने भएको छ । यस किसिमको कोषबाट आपत बिपत्तिको बेला मगर समुदायहरूलाई राहत तथा सहयोग गरिने ‘मगर आपतकालीन कोष’ कमिटीका सदस्य याम पुन मगरले बताउनुभयो ।

उत्कृष्ट तथा जेहेन्दार मगर बिद्यार्थीहरुलाई हौसला र प्रोत्साहन गर्न पहिलो पटक सुरुवात गरिएको मगर बिद्यार्थी छात्रवृत्ति कोष समितिबाट छनौट भएका कृष्ण राना मगर (जर्जिया ) र निर्जल थापा मगर ( न्युजर्शी ) लाई १/१ हजार डलर र प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने मगर संघ अमेरिकामा लामो समय सम्म कार्यसमितिमा रहेर काम गरेका र स्थापना कालदेखि निरन्तर मगर संघ अमेरिकालाई विभिन्न तवरबाट सहयोग गर्दै आएका मगर संघ अमेरिका केन्द्रीय समितिका बर्तमान सल्लाहकार लक्ष्मी कुमारी राना मगर, डा.गंगा पुर्जा पुन मगर र पत्रकार प्रदीप परियार थापा मगरलाई पनि सम्मान गरिएको थियो ।

च्याप्टर कमिटी र विभिन्न मगर समुदायका ब्यक्तीहरूबाट बिधान संशोधनका लागि आएका प्रस्तावहरु केही समयको बैठक पछि विधान संशोधन गरिएको थियो । विधान संशोधन समितिका संयोजक लछुमन राना मगर, लक्ष्मी कुमारी राना मगर र भक्त बहादुर आले मगरले संशोधनका लागि आएका प्रस्तावहरु प्रस्तुत गरेका थिए ।


मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष कुलदिप राना मगरले नेपालमा बन्न लागेको लखन स्मृति पार्क निर्माणका लागि अमेरिकामा रहेका सबै मगर समुदायलाई सहयोगको अपिल गर्दै र मगर समुदायहरूका लागि अमेरिका राज्यबाट पाउन सक्ने सेवा र सुबिधा बारे मगर संघ अमेरिकाले प्रयास गरेको बताउदै कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो ।

 

Loading...