
सर्वसाधारण र पर्यटकका लागि खुल्यो बौद्धको ‘लोटस प्लेट’

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौँ । लामो समयदेखि बन्द रहेको बौद्धनाथको मुख्य स्तूपमा लगाएको ताला खुलेको छ ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ताला खोल्नका लागि निर्देशनात्मक पत्र पठाएसँगै बौद्धनाथ क्षेत्र विकास समितिले मङ्गलबार (आज) बाट ताला खोलेको हो ।


बौद्ध धर्मगुरुसँगै बाह्य तथा आन्तरिक पर्यटक र सर्वसाधारणहरूका लागि खुल्ला रहेको स्तूप परिसरभित्र रहेको ‘लोटस प्लेट’ कोरोनाकालबाट बन्द गरिएको थियो । कोरोनाकाल सकिए पनि ताला नखुलेपछि मन्त्रालयले खोल्न निर्देशन दिएको क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले बताए ।


दशकौंदेखि स्तूपको ‘लोटस प्लेट’ क्षेत्रसम्म सर्वसाधारण र पर्यटकलाई जान दिँदै आएपनि पछिल्लो समय बौद्ध मेलम्ची घ्याङ गुठीले प्रवेशमा रोक लगाएको भन्दै बौद्धनाथ क्षेत्र विकास समितिको विशेष पहलमा आज ताला खोलिएको हो । विश्व सम्पदा सूचीकृत बौद्ध स्तूप परिसरलाई शान्त र विवादरहित बनाउने उद्देश्य रहेको बताउँदै धार्मिक पवित्र स्थललाई कसैले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न नहुने अध्यक्ष लामाले बताए ।

