
सर्बोच्च शिखर आरोही तेन्जिङ नोर्गे शेर्पाको नाममा न्युयोर्कमा बाटो

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । सर्बोच्च शिखर आरोही तेन्जिङ नोर्गे शेर्पाको सम्मानार्थ सगरमाथा आरोहणको ७० औ बर्षगाँठको अवसर पारेर न्युयोर्कशहरको कार्यालयले न्युयोर्कको क्विन्समा बाटोको नाम “तेन्जिङ नोर्गे शेर्पा वे” नामांकरण गरेको छ ।
न्युयोर्कमा बसोबास गर्ने शेर्पा समुदायको साझा संस्था शेर्पा किदुग अमेरिकाको बिशेष पहलमा नेपालीहरुको बाक्लो बस्ति रहेको न्युयोर्कको क्विन्स स्थित ज्याक्सन हाइट्स किदुगको मुख्य कार्यालय (गुम्बा) सामुन्नेको बाटो ७५ स्ट्रिट ब्रोडवे देखी ७५ स्ट्रिटको ऊडसाईड (75th Street & Broadway to 75th Street & Woodside) सम्मको मार्गलाई न्युयोर्क शहरको कार्यालयले उक्त नाम लाई स्विकृती दिईएको हो ।



सन् १९५३, मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सर्वोच्च शिखर सागरमाथाको आरोहण गर्नु भएको थियो । ”तेन्जिंग नोर्गे शेर्पा वे” मार्गको नामाकंरणको उद्घाटन न्युयोर्क शहरका परिषद सदस्य शेखर कृसनन्, महावाणिज्यदुत बिष्णु प्रसाद गौत्तम र सामाजिक अगुवाहरुले संयुक्तरुपमा गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा उत्साहित हुदै बोल्ने क्रममा सिटि काउन्सिल मेम्बर शेखर कृसन, स्टेट सिनेटर मिसेल गाइनरिस, स्टेट एसेम्बली मेम्बर क्याटालिना क्रुज, स्टेट एसेम्बली मेम्बर जेसिका गोन्जालेस, काउन्सील मेम्बर जुलि वनले न्युयोर्कको बाटोको नाम शाहसी आरोही तेन्जिङ नोर्गे शेर्पाको नाममा नामांकरण गर्न पाउदा निकै खुसी लागेको बताउनु भएका थिए ।

न्युयोर्क नेपाली महावाणिज्यदुतावासको कार्यालयबाट कार्यवाहक महाबाणिज्यदुत विष्णु प्रसाद गौतम, तेन्जिङ नोर्गेका छोरा नुर्बु तेन्जिङ, शेर्पा किदुगका अध्यक्ष तेम्बा शेर्पा, शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जि शेर्पा र युएसनेपाल क्लाइबर्स एसोसियसनका अध्यक्ष पासाङ निमा शेर्पाले बाटोको नामांकरण कार्यको प्रस्तावलाई स्विकार गरि सहयोग पुर्याउनु भएकोमा न्युयोर्क शहरको कार्यालय र सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएका थिए ।
शेर्पा किदुग अमेरिका, शेर्पा संघ अमेरिका र युएस नेपाल क्लाइम्बर्स एसोसियसनको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिति रहेका थिए । भने कार्यक्रममा तेन्जिङ नोर्गेका छोराहरु नोर्बु तेन्जिङ शेर्पा, दामे तेन्जिङ शेर्पा र नेपालका पुर्व पर्यटन राज्यमन्त्रि याङकिला शेर्पाकेा समेत उपस्थिती रहेको थियो ।मेमोरियल डेको दिन आयोजित उक्त कार्यक्रमको अन्त्यमा नेपाली मौलिक संस्कृति झल्कने सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरी कार्यक्रम सम्पन्न भएको थियो ।