Banner

इन्स्पायर नोबल फाउन्डेसनले पुर्ब घोषणा गरे अनुसार सोमपाल कामी र कुशललाई एक-एक लाख हस्तान्तरण

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । इन्स्पायर नोबल फाउन्डेसनले पुर्ब घोषणा गरे अनुसार भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई आज पुरस्कार रकम प्रदान गरेको छ ।

त्रिपुरेस्वर स्थित नेपाल खेलकुद पत्रकार मन्चको कार्यालयमा आयोजित कार्यक्रममा फाउन्डेसनले क्रिकेटर सोमपाल कामी र कुशल भुर्तेललाई जनही एक-एक लाख रुपैयासहित सम्मान गरेको हो ।


चलचित्र निर्देशक चन्द्र पन्त अध्यक्ष रहेको फाउन्डेसनले एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलअघि प्रत्येक छक्का र विकेट लिए बाफत ५० हजार दिने र बिजयी भएमा टोलीलाई ५ लाख रूपयाँ दिने घोषणा गरेको थियो ।


सोही अनुरुप फाउन्डेसनले नेपाल खेलकुद पत्रकार मञ्चको रोहबरमा सोमपाल र कुशललाई एक–एक लाख रुपैयाँ दिएको हो ।कुशल र सोमपालले भारतविरुद्ध दुइ-दुइ छक्का प्रहार गरेका थिए ।


कुशल र सोमपाललाई फाउन्डेसनका नेपाल प्रतिनिधी सुशील रेग्मीले चेक हस्तान्तरण गरेका थिए। कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व-अध्यक्ष अजय फुयालको उपस्थितिमा सम्पन्न भएको थियो ।


पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरूलाई थप हौसला मिलेको बताउँदै फाउन्डेसनलाई धन्यवाद दिए ।
अमेरीकामा रहेका फाउन्डेसनका अध्यक्ष पन्तले खेलाडीलाई आगामी दिनका लागि उत्साहित बनाउन रकम प्रदान गरीएको बताए ।


रकम घोषणा गर्ने तर समयमै उपलब्ध नगराउने परम्परा रहेको अवस्थामा आफ्नो संस्थाले त्यस्तो परम्परा तोड्दै र सकारात्मक सन्देश दिन नेपाली क्रिकेट टोली देश फर्किएको भोलीपल्टै घोषणा गरे बमोजिम रकम प्रदान गरेको अध्यक्ष पन्तले बताए ।

क्रिकेटको राजा मानिने भारतविरुद्धको खेलमा नेपाली टोलीले गरेको प्रर्दशनको प्रशंशा गर्र्दै पन्तले आगामी दिनमा पनि नेपाली खेलाडीलाई सम्मान गर्ने योजनामा रहेको बताए ।
हालै स्थापना भएको यो फाउन्डेसन सामाजिक सेवामा सर्मपित रहने अध्यक्ष पन्तको भनाई छ ।

Loading...