Banner

त्यसकारण पनि नारी महान छन् ।

मकै हाउस टिभी एण्ड न्युज, लक्ष्मी थापा 

न्युयोर्क, 
प्रत्येक वर्ष मार्च ८ का दिन एक नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस अर्थात् महिला श्रमिक दिवस मनाइन्छ । यस वर्ष “महिलामा लगानी, प्रगतिलाई तीव्रता” भन्ने नाराका साथ नारी दिवस विश्वभर मनाइदै छ ।

हामीले कुनै पनि कुरा गर्दै गर्दा त्यसको इतिहासलाई स्मरण गर्नुपर्ने हुन्छ । मानव सभ्यताको शुरुवातदेखि नै महिलाहरूले पुरुष सरह काम गर्ने गरेको प्रमाण भेटिन्छ । आधुनिक युगमा प्रवेश गर्दा अनि महिलाले काम गरे बापतको ज्याला पुरुषको तुलनामा ज्यादै कम पाउने र पुरुषले भन्दा धेरै घण्टासम्म काम गर्नुपर्ने हुँदा आफूहरू शोषित भएको महसुस गर्न थाले र आफ्ना अधिकारको लागि सन् १९०० देखि आवाज उठाउन थालेका हुन् ।

क्लारा जेट्किनले आफ्नो नेतृत्वमा अमेरिकाको न्युयोर्क सहरबाट केही साथीहरुको साथमा सन् १९०९, फेब्रुवरी २८ बाट नारी दिवस मनाउन शुरु गरेको इतिहास भेटिन्छ ।

नारी सशक्तिकरणको अभियानलाई अगाडि बढाउदै जाँदा विश्वका महिलाहरु आज यो अभियानमा धेरै अगाडि बढिसकेका छन् । तर हामी नेपाली महिला आज पनि घरेलु हिंसा,बलात्कार, हत्या, दाइजोप्रथा जस्ता जघन्य अपराध र कुरीतिको घेराबाट बाहिर निस्कन सकेको अवस्था छैन । हामी विदेशमा रहेका नेपाली महिलाहरुले नेपालमा बेला बेलामा सुनिने यस्ता जघन्य अपराधको विरुद्ध दोषीलाई कडा भन्दा कडा कारबाही होस् भनेर यहाँको दूतावास मार्फत लिखित रुपमा विज्ञप्ति बाहिर ल्याउनु जरुरी छ ।

आज नारी दिवसले ११४ औं वसन्त पार गर्दै गर्दा पनि महिलाहरुलाई नेतृत्व तहमा र निर्णायक भूमिकामा सहर्ष स्विकार गर्न नसकेको अवस्था छ भने हामी केही महिलाहरु पनि राजनीतिक आस्थाको आधारमा, जातीय आधारमा र अरु विभिन्न कुराले विभाजित भएको देखिन्छ । हामी सबै एक भएर आवाज बुलन्द बनाउन सकियो भने धेरै समस्याहरु समाधान गर्न सकिन्छ ।

हरेक महिलाले महिलाको सम्मान गर्दै समाज परिवर्तनको लागि हातेमालो गर्दै अगाडि बढ्न सक्नुपर्छ । व्यक्तित्व विकासको कमी भए विभिन्न तालिमहरु लिएर सशक्तीकरणको मार्गमा हिड्न महिलाहरु अब हिच्किचाउनु हुँदैन । पुरुष दाजुभाइले पनि महिला दिदीबहिनीलाई नेतृत्व तहमा अगाडि बढाउनको लागि सहज वातावरण प्रदान गर्नुपर्छ र आफू पनि मानसिक रुपमा परिवर्तन हुनुपर्छ ।

जुन घरमा, जुन समाजमा, जुन देशमा महिलाको सम्मान हॅुदैन त्यो घर, त्यो समाज, त्यो देश कहिले पनि सफल हॅुदैन । त्यसैले त भन्ने गरिन्छ, “यत्र नार्यस्तु पूज्यंते रमंते तत्र देवता।” नारी देवी हुन्, शक्ति हुन्, सृष्टि हुन्, सृष्टि संचालनका मुख्य पात्र हुन् । त्यसकारण पनि नारी महान छन् ।

११४ औं अन्तराष्ट्रिय नारी दिवसको शुभकामना ॥ 🙏

 

Loading...