
न्युयोर्कको लंगआईल्याण्डमा “मायाज ब्यूटी बार”को उद्घाटन: उद्यमशीलता र सामुदायिक सशक्तिकरणको लागि कोसेढुंगा
मकै हाउस टिभी एण्ड न्युज, बिश्वराज बास्तोला
न्युयोर्क । लंग आईलेण्ड निवासी रुपा भण्डारी र तिला उप्रेती खरेलको स्वामित्वमा संचालनमा आउने माया ब्यूटी बारको आज लंग आईलेण्डको सोयासेटमा शुभारम्भ गरिएको छ।

उत्कृष्ट सौन्दर्य सेवा प्रदान गर्ने उद्देश्य राखेको माया ब्यूटी बारका संचालक द्वयमा थ्रेडिङ, फेशियल, वेक्सिङ, मेकअप र थप कुराहरूमा १५ वर्षभन्दा बढीको अनुभव रहेको छ। आज उद्घाटन कार्यक्रममा समुदायका दाजुभाइ, दिदीबहिनीको सकारात्मक एवं प्रेरणादायी उपस्थितिले हामीलाई हौसला प्राप्त भएको छ, उनीहरूले भने।

“माया सौन्दर्य बारले उच्च मापदण्ड कायम राख्ने र असाधारण ग्राहक अनुभव प्रदान गर्ने समर्पण राखेर काम गर्नेछौं,” रुपा भण्डारीले भनिन्। संचालक मध्येकै अर्की तिला खरेलले, “आफूलाई ब्यूटी पार्लर खोलेर यहाँको समुदायलाई सेवा गर्ने, आफ्नो क्षमताले सौन्दर्य कला देखाउने मेरो चाहनामा परिवार र रुपा आंटीले साथ दिनुभएको छ। म कामबाट देखाउने छु। हामी मिलेर लक्ष्य हासिल गरेर समुदायका दिदीबहिनीहरूलाई उद्यम गरौं र मालिक बनौं, आफ्नै चेक आफैँ काटौं भन्ने भावना जागरित गराउन कोसिस गर्नेछौं,” भनिन्। “हाम्रो सौन्दर्य उद्योगमा आफ्नो परिवारको विरासतलाई सम्मान गर्न चाहन्छौं, माया ब्यूटी बार हाम्रो समुदायमा उत्कृष्टताको आधारशिला बनाउनेछ।”

कार्यक्रममा समुदायका अगुवाहरू पं. पिपलमणि सिग्देल, विश्वराज वास्तोला, टिकाराज ढकाल, दिवाकर पाण्डे, वाबुराम शर्मा, टक रुवाली, शिव मैनाली लगायतले वधाई ज्ञापन गर्दै उत्कृष्ट सौन्दर्य सेवाहरू खोज्नेहरूका लागि माया ब्यूटी बार उत्कृष्ट स्थान भएको बताए। रुपा र तिलालाई निरन्तर सफलता र सेवाका लागि बधाई छ।
परिवारका सदस्य विकास खरेल र शंकर राज भण्डारीले भने, “माया ब्यूटी बारको भव्य उद्घाटनमा तपाईहरू सबैलाई स्वागत गर्न पाउँदा हामी गहिरो सम्मान र गर्व गर्दछौं। विशेष गरी आज यहाँ उपस्थित महानुभावहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं।”
उनीहरूले भने, “हामी हाम्रा साथी र समुदायका सदस्यहरूलाई स्वागत गर्दछौं र सम्मान व्यक्त गर्दछौं। दुई दशकअघि लंग आईल्याण्डमा नेपाली समुदाय सानो थियो तर आज झन्डै तीन हजार सदस्य छन्। यहाँका नेपाली अमेरिकी नागरिकहरू डाक्टर, इन्जिनियर, नर्स, शिक्षक, वैज्ञानिक, वकिललगायत विभिन्न पेशा र क्षेत्रमा संलग्न छन्। आज हामीले सञ्चालन गर्ने माया सौन्दर्य बार, व्यापार मात्र होइन; यसले महिला सशक्तिकरण र नेपाली समुदायको उद्यमशीलताको प्रतीक हो। यो प्रयासले महिलाहरूलाई उद्यमशीलतामा अगाडि बढ्न, नवप्रवर्तन ल्याउन र अरूलाई प्रेरित गर्न प्रोत्साहन गर्ने महत्त्वपूर्ण भूमिका खेल्नेछ।”
“हाम्रो लक्ष्य उत्कृष्ट सौन्दर्य सेवाहरू प्रदान गर्नु मात्र होइन, सबै एसियाली समुदायहरूमा महिला सशक्तिकरणको सन्देश फैलाउनु र आफ्नै व्यवसाय सञ्चालन गर्ने सपना देख्ने युवा महिलाहरूको अर्को पुस्तालाई प्रेरित गर्नु हो। हामी विश्वास गर्छौं कि एकअर्कालाई समर्थन गरेर, हामी ठूलो सफलता हासिल गर्न सक्छौं र हाम्रो समुदायमा सकारात्मक प्रभाव पार्न सक्छौं।”

“हामीलाई सम्मान र हौसला प्रदान गर्नुहुने इष्टमित्र, आफन्तजन, समुदायका अगुवाहरू र यहाँ उपस्थित सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। तपाईंको उपस्थिति र प्रोत्साहनले हामीलाई हाम्रो समुदायमा उद्यमशीलताको विकासमा थप प्रेरणा र मद्दत गर्नेछ।”
“यस यात्रामा हामीलाई साथ दिनुहुने सबैलाई धन्यवाद। तपाईको विश्वास र सहयोगले आजको दिनलाई वास्तविकता बनायो। आगामी दिनहरूमा पनि तपाईहरूको निरन्तर माया र सद्भावको अपेक्षा गर्दछौं।”