
न्यूयोर्क शहरका मेयर द्वारा मिथिला हेरिटेज कार्यक्रम आयोजना, न्यूयोर्कमा मिथिला सम्पदा संग्रहालय बनाईने
मकै हाउस सामुदायिक मिडिया,
म्यानहाटनस्थित ग्रेसी म्यानसनमा न्यूयोर्क शहरका मेयर द्वारा आयोजना गरीइएको ऐतिहासिक कार्यक्रम मिथिला हेरिटेज रिसेप्शनले मिथिला क्षेत्रको जीवन्त समुदाय र सांस्कृतिक महत्वलाई जीवन्त बनाएको थियो । कार्यक्रममा मिथिला क्षेत्रको परम्परा झल्काउने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो भने संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका बारेमा सामुदायिक सचेतना एवं मिथिला कलाको भूमिकालाई उजागर गर्ने कला देखाइएको थियो ।

न्यूयोर्कका अधिकांश निर्वाचित पदाधिकारीहरू एवं जनप्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाल र भारत सरकारका उच्चस्तरीय अधिकारीको उपस्थिति थियो । त्यस्तै कार्यक्रममा न्यूयोर्कका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा न्यूयोर्क शहरकी उपमेयर मीरा जोशीले सांस्कृतिक विविधतालाई आफूले सधै संरक्षण गर्ने भन्दै मिथिलाको सांस्कृतिक महत्व र पहिचानलाई संरक्षण गर्न सबै लाग्नु पर्ने बताए । न्यूयोर्क शहरले ४०० औं जन्मदिवस मनाई रहँदा यस्ता सांस्कृतिक विविधतालाई अर्को पुस्तासम्म हस्तान्तरण गर्नु सबैको दायित्व भएको बताए । कार्यक्रममा न्यूयोर्क राज्यसभाकी सदस्य जेनिफर राजकुमार, न्यूयोर्क सिटी काउन्सिल सदस्य जुली वोनलगायतले मिथिला कला र संस्कृतिको महत्वका बारेमा बोलेका थिए ।

त्यस्तै मिथिला सेन्टर अमेरिकाका संस्थापक तथा अध्यक्ष अमित प्रताप शाहले मिथिलाको समृद्ध एवं सांस्कृतिक सम्पदालाई मान्यता दिन मेयर एरिक एडम्सल र स्थानीय सरकारले ऐतिहासिक कार्यक्रम गरेकोमा धन्यवाद दिए । सेन्टरले संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा प्रत्येक वर्ष प्रदर्शनी गर्दै आएको छ ।
मिथिला सेन्टर अमेरिकाका सह–संस्थापक तथा मिथिला हेरिटेज म्युजियमका अगुवा नवलकिशोर यादवले मिथिला सम्पदा संग्रहालयले न्यूयोर्क शहरको सांस्कृतिक विविधतालाई सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याउने दावी गरे ।
कार्यक्रममा मिथिला कला र सम्पदामा योगदान पुर्याउने विशिष्ट व्यक्ति तथा संस्थालाई न्युयोर्क शहरका मेयर एरिक एडम्सले हस्ताक्षर गरेको प्रशंसापत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेमा मधेशी एसोसिएसन इन अमेरिका, एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा), विहार–झारखण्ड एसोसिएसन अफ नर्थ अमेरिका, रिजवुड नेपाली समाज, मिथिला सेन्टर अमेरिकाका संस्थापक सदस्य नवलकिशोर यादव र आशा शाहलगायत रहेका छन् ।

जनकपुर उपमहानगरपालिकाका मेयरका तर्फबाट मिथिला सेन्टर अमेरिकाको टोलीसहित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका उपस्थायी प्रतिनिधि कौशल किशोर रोय र न्यूयोर्कस्थित नेपाली महावाणिज्य दुतावासका कार्यवाहक महावाणिज्यदूत चक्रकुमार सुवेदीले न्यूयोर्क शहरका मेयर एरिक एडम्सको कार्यालयलाई सीता मन्दिरको प्रतीक चिन्ह प्रदान गरे ।
संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज भन्ने नाराका साथ साताव्यापी प्रदर्शनी गरिएको हो । मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दुतावास न्यूयोर्कको संयुक्त आयोजनामा गरिएको प्रदर्शनी जुलाई १७ सम्म चलेको थियो ।

संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले प्रदर्शनीको औपचारिक उद्घाटन गरेका थिए । प्रदर्शनीमा स्थायी र पर्यवेक्षक नियोगका प्रतिनिधिका साथै दिगो विकास लक्ष्य कार्यक्रममा सहभागि हुन आएका अधिकांश देशका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रदर्शनीमा एस के सुमन, प्रतिक रायमाझी, नुपुर निशिथ, शैली झा, शिभांगी सिंह, मनिशा शाह सिं लगायतका चित्रकारको चित्रकला प्रदर्शनी गरिएको थियो । त्यस्तै जनकपुर महिला विकास केन्द्रका कलाकारहरु सेलो यादाव, सुधिरा कर्ण, कोमल पूर्वे, निर्मला राम, मञ्जुला ठाकुर, सेब्ती मण्डल र अमृता दत्तको चित्रकला पनि प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनीले मिथिलाका कलाकारहरूको जटिल र प्रतिकात्मक कलाकृतिहरूमार्फत वातावरण संरक्षणको सशक्त सन्देश र जलवायु परिवर्तनले पार्ने असरका बारेमा सचेत पारेको थियो ।