Banner

कुलमान घिसिङको निष्कासनप्रति तामाङ सोसाइटी अफ अमेरिकाको ध्यानाकर्षण, पुनः पदबहालीको माग ।

 

मकै हाउस मिडिया, अक्कल बहादुर तामांग

न्यूयोर्क, अमेरिका । नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा तामाङ सोसाइटी अफ अमेरिकाले गम्भीर आपत्ति जनाएको छ। सोसाइटीले एक प्रेस विज्ञप्ति जारी गर्दै घिसिङको निष्कासनप्रति घोर विरोध जनाउँदै उनलाई पुनः पदमा बहाली गर्न सरकारलाई आग्रह गरेको छ।


प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, कुलमान घिसिङले नेपालमा लोडसेडिङको अन्त्य गर्दै ऊर्जा क्षेत्रमा क्रान्तिकारी सुधार गरेका थिए। उनको कुशल नेतृत्वका कारण देश उर्जा क्षेत्रमा आत्मनिर्भरतातर्फ अघि बढिरहेको अवस्थामा सरकारको यो निर्णय निराशाजनक र आम जनताको भावनाविपरीत रहेको सोसाइटीको दाबी छ।

तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष तुलबहादुर तामाङले भने, “कुलमान घिसिङजस्तो इमान्दार, दूरदर्शी र सक्षम नेतृत्वलाई हटाउनु देश र जनताप्रतिको अन्याय हो। सरकारले अविलम्ब आफ्नो निर्णय सच्याएर उनलाई पुनः विद्युत प्राधिकरणको जिम्मेवारी दिनुपर्छ।”

 

यसै सन्दर्भमा, सोसाइटीले संसारभर रहेका नेपाली समुदायलाई समेत घिसिङको पुनर्बहालीका लागि आवाज उठाउन आह्वान गरेको छ। यदि सरकार आफ्नो निर्णयबाट पछि नहटेमा थप विरोधका कार्यक्रमहरू आयोजना गरिने चेतावनी पनि दिइएको छ।

नेपालमा ऊर्जा क्षेत्रको समृद्धिका लागि कुलमान घिसिङलाई पुनः जिम्मेवारी दिनुपर्ने माग गर्दै तामाङ सोसाइटी अफ अमेरिकाले सरकारलाई यथाशीघ्र आवश्यक निर्णय लिन अनुरोध गरेको छ।

 

Loading...