
च्याम्पियन मार्सल आर्ट्स क्लब युएसए,न्युयोर्क द्वारा तेक्वान्दो निर्णायक काजल श्रेष्ठ सम्मानित
मकै हाउस मिडिया, न्युयोर्क
न्युयोर्क । नेपाली तेक्वान्दो निर्णायक काजल श्रेष्ठ च्याम्पियन मार्सल आर्ट्स क्लब युएसए, न्युयोर्क द्वारा नगद र सम्मान पत्र द्वारा सम्मानित भएकी छिन् ।

काजललाई न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले उनलाई नगद र सम्मान पत्रले सम्मानित गरिएको ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा अध्यक्ष सुनिल लामाले मकै हाउस न्युजलाई जानकारी गराउनु भएको हो ।


प्रशिक्षक लामाका अनुसार काजललाई एसियाडका कास्य तथा सागका स्वर्ण र रजत विजेता मनिता शाहीबाट ३ सय अमेरिकी डलर र पुष्प थापा मगरबाट १ सय अमेरिकी डलर गरी कुल ४ सय अमेरिकी डलर (५५ हजार नेपाली रुपैयाँ), सम्मान पत्र र क्लबको टिसर्ट प्रदान गरिएको हो । क्लबले आफ्नै एकेडेमीमा स्वागत गर्दै उनलाई सम्मानित गरेको हो ।

काजल अमेरिकाको टैक्सासमा भएको डालास इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०२५ मा निर्णायकको भूमिका निर्वाह गर्न त्यहाँ पुगेकी थिइन् ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी २७ वर्षीय काजल गत वर्ष तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री बनेकी थिइन् । त्यसयता उनले जापान, अस्ट्रेलिया र थाइल्यान्डमा निर्णायकको भुमिका निभाइसकेकी छिन् । उनले जापानको ओसाकामा उत्कृष्ट निर्णायकको अवार्डसमेत जितेकी थिइन् ।

एक दशक लामो खेलाडी जिवनपछी रेफ्रीको भूमिकामा देखिन थालेकी उनी ग्योरोगी र पुम्से दुवै विधाका अन्तर्राष्ट्रिय रेफ्री हुन् ।
च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आफ्नो नियमित प्रशिक्षणसँगै विभिन्न प्रतियोगितामा सहभागिता जनाउदै आइरहेको छ । यस्तै क्लबले सामाजिक कार्य र विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आइरहेको छ ।