
पहिलो ‘नेपाल डे ईन फेयर लन, न्यूजर्सी २०२५’ भव्यरूपमा सम्पन्न
मकै हाउस मिडिया,
न्युजर्सी । संयुक्त राज्य अमेरिकाको न्यूजर्सी राज्यको फेयर लन शहरमा न्युजर्सिमा रहेको नेपालीहरुको ईतिहास मै पहिलो पटक “नेपाल डे ईन फेयर लन, न्युजर्सी २०२५” भब्यरुपमा सम्पन्न गरेका छन् ।


नेपाली पहिचान, कला, संस्कृति र पर्यटन प्रवद्र्धनको उद्देश्यले शनिबार आयोजना गरिएको कार्यक्रममा न्यूजर्सी, न्यूयोर्क र कनेक्टिकटका नेपालीहरु एवं नेपाली मूलका अमेरिकीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


कार्यक्रममा नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुको व्यानर सहित नेपालीहरु आआफ्नो मौलिक पोशाकमा उपस्थित भएका थिए । कार्यक्रम स्थलमा नेपालका मौलिक सामाग्रीहरुको स्टल राखिएको थियो ।



संयुक्त राष्ट्संघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधि एवं राजदुत लोकबहादुर थापा र फेरलन सिटीका उपमेयर जोश रेईनिजले संयुक्त रुपमा उद्घाटन गरेको कार्यक्रममा नेपाल झल्किने विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


कार्यक्रममा राजदुत थापाले नेपालको पर्यटन प्रवद्र्धनमा यस्ता कार्यक्रमले निकै सहयोग पुर्याउने भन्दै जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने बताउनु भयो । त्यस्तै नेपाल सरकारका पर्यटन प्रवद्र्धक गोकुल श्रेष्ठले सिटीका उपमेयर जोश रेईनिजलाई नेपाल सम्बन्धि जानकारी मुलक पुस्तकहरु हस्तान्तर गर्दै नेपाल भ्रमणका लागि आग्रह गर्नु भयो । उहाँले संक्षिप्त मन्तव्य व्यक्त गर्दै नेपाल सुरक्षित, रमणिय, प्राकृतिक सुन्दरता एवं सांस्कृतिक विविधतायुक्त भएकाले देशप्रति सधै सकारात्मक सन्देश प्रवाह गर्न सहभागिहरुलाई आग्रह गर्नु भयो । कार्यक्रमलाई स्थानीयवासीहरुले निकै रुची पूर्वक अवलोकन गरेका थिए ।

ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, गैर आवासीय नेपाली संघ, अमेरिका न्यूजर्सी च्याप्टर, आर्क फर नेपाल, कारणका लागि महिला, फ्रेण्ड्स अफ नेपाल एवं स्थानीय सामाजिक संघसंस्था र नेपाल सरकार पर्यटन प्रवद्र्धक, न्यूयोर्कको समन्वयमा नेपाल डे कार्यक्रम गरिएको हो । राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्जिव श्रेष्ठ इभेन्ट डाईरेक्टर र सतेन्द्र शाहले कन्भेनरको भूमिका निर्वाह गर्नुभएको थियो ।


कार्यक्रममा स्वागत मन्तब्य राख्दै कार्यक्रमका कन्भेनरले सतेन्द्र शाहले पाल्नु भएका नेपाली आगन्तुक र सहयोगकर्ताहरुको सहयोग बिना आजको यो कार्यक्रम सफल नहुने कुरा राख्दै सम्पुर्णलाई कार्यक्रममा स्वागत गरेका थिए ।

भने कार्यक्रमका ईभेन्ट निर्देशक संजिब श्रेष्ठले आफ्नो मन्तब्य राख्ने क्रममा पहिलो नेपाल डे न्युजर्सिमा सफलरुपमा सम्पन्न गर्नको लागी सहयोग पुर्याउनु भएका सम्पुर्ण सहयोगदाताहरुको बिस्तृतरुपमा नाम लिदै धन्यबाद ज्ञापन गर्नुको साथै यो कार्यक्रमले निरन्तरता पाउने आशा ब्यक्त गर्दै सहयोगीहात निरन्तर रहोस् भनी आग्रह गर्दै पुन: धन्यवाद ब्यक्त गरेका थिए ।

न्यूजर्सीमा नेपाल डे कार्यक्रम आगामी वर्षहरुमा पनि निरन्तर गरिने अध्यक्ष राजेन्द्र श्रेष्ठले कार्यक्रम समापनको मन्तब्य दिने क्रममा राख्नु भएको थियो । अध्यक्ष श्रेष्ठले समापन मन्तब्यको क्रममा कार्यक्रम सफल बनाउन अहम् भुमिका खेल्नुहुने सम्पुर्ण आयोजक समितीका साथीहरु, स्वंयसेवक, पत्रकार, समुदायका अगुवा र प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग पुर्याउनु भएका सम्पुर्णको साथै स्थानीय प्रशासनलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।


कार्यक्रममा समुदायमा स्वयंसेवाको माध्ययमबाट समाज रुपाण्तरणमा उल्लेख्य भुमिका निर्वाह गरेका सामाजिक ब्यक्तित्वहरुलाई फेयर लन सिटीको मेयर कार्यालयबाट सिटीका उप-मेयर जस रिनिट्जको हातबाट प्रोक्लेमेसन पनी हस्तातरण गरिएको थियो ।

संञ्चारकर्मी तथा होस्ट बिक्की पुलामी र मिस नेपाल इन्टरनेशनल २०१२ सुवेक्षा खड्काले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय र स्थानिय कलाकारहरुले प्रस्तुति दिएका थिए ।
तस्विरः KS Photography
