
अब बन्ने भो तामाङ कम्युनिटी सेन्टर न्युयोर्क, लामो प्रतीक्षापछि तामाङ समाजको ऐतिहासिक सपना साकार हुँदैछ ।
मकै हाउस मिडिया, अक्कल तामाङ न्युयोर्क
वर्षौंदेखि अमेरिकामा बसोबास गरिरहेका तामाङ समुदायको एक साझा सपना थियो – आफ्नै तामाङ भवन निर्माण गर्ने। त्यो सपना अब यथार्थमा बदलिन थालेको छ। तामाङ सोसाइटी अफ अमेरिकाको वर्तमान नेतृत्व र सदस्यहरूको अथक प्रयास, समर्पण र दूरदर्शिताले गर्दा न्यूयोर्कमा छिट्टै तामाङ कम्युनिटी सेन्टर बन्ने निश्चित भएको छ।
भनिन्छ, “राम्रो कालिगडको हातमा पर्यो भने विग्रेको काठको पनि सारङ्गी बन्छ”। त्यस्तै भएको छ तामाङ सोसाइटी अफ अमेरिकाको वर्तमान कार्यसमितिको कार्यशैलीमा। अध्यक्ष तुलबहादुर तामाङको दूरदर्शी नेतृत्व, महासचिव चाँदनी तामाङ योन्जनको समन्वयकौशल र सदस्यहरूको समर्पणले गर्दा समाज एकतावद्ध भई साझा गन्तव्यतर्फ अग्रसर भएको छ।

वर्तमान समितिले चुनावी घोषणापत्रमा उल्लेख गरेको तामाङ भवन निर्माणको सपना अब केवल सपना होइन, एउटा ठोस योजनाको रूपमा समाज सामु प्रस्तुत भइरहेको छ। समितिले भवन निर्माणलाई लक्ष्य बनाएर सम्पूर्ण तामाङ समुदायलाई एउटै सूत्रमा बाँध्ने प्रयास गरिरहेको छ, जसको परिणामस्वरूप सबैले महसुस गर्न सक्ने सकारात्मक ऊर्जा समाजभित्र फैलिरहेको छ।

समितिले ‘एकता नै शक्ति हो’ भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्दै, विभिन्न क्षेत्र र पृष्ठभूमिबाट आएका तामाङ दाजुभाइ दिदीबहिनीहरूलाई समेट्दै अगाडि बढेको छ। पूर्व अध्यक्षहरू, समाजका प्रतिष्ठित अग्रजहरू, युवाशक्ति, महिला सदस्यहरू सबैलाई समेटेर लान सक्ने नेतृत्व क्षमताले गर्दा यो समिति इतिहास निर्माण गर्ने दिशामा अगाडि बढिरहेको छ।
भवनको निर्माण कार्य सन् २०२५ भित्र सम्पन्न गर्ने लक्ष्यसहित समिति क्रियाशील छ। अहिले समाजमा यसका लागि सहयोग संकलन र जनचेतना अभिवृद्धिको अभियान चलिरहेको छ। सहयोगदाताहरूको नाम भवनको प्राङ्गणमा बनाइने ‘स्मृति सिलापत्र’ मा उल्लेख गरिने भएकोले यो अभियान केवल निर्माण कार्यमा सहयोग गर्नेको नाम मात्र बस्ने होइन , ताकि भावी पुस्तालाई गर्व गर्ने सम्पत्ति हस्तान्तरण गर्ने योजना पनि हो।
समितिले ‘इतिहास कोट्याएर समय बिताउनु भन्दा इतिहास बनाऔं’ भन्ने दृष्टिकोण अपनाएको देखिन्छ। अहिलेको यथार्थ हेर्दा भन्न सकिन्छ, तामाङ समाजको एकताको बलले अब एक साझा घर, साझा मञ्च, र साझा सपना साकार हुँदैछ।

हामी सम्पूर्ण तामाङ समाजलाई आह्वान गर्न चाहन्छौं – अब इतिहास बनाउने बेला हो, फर्केर हेर्ने होइन। यस पवित्र अभियानमा सहभागी बनौं, योगदान गरौं, र इतिहासको पानामा आफ्नो नाम लेखौं।
हाम्रो पनि हार्दिक शुभकामना – तपाईंहरूको नेतृत्वमा साकार होस् तामाङ भवन, समृद्ध होस् तामाङ समाज ।