
म सुन्न सक्दिन, तर म जनताको पीडा महसुस गर्न सक्छु, माननिय सुनिता थापा मगर
मकै हाउस मिडिया, अक्कल तामाङ
“म मौन छु, तर मेरो आत्मा बोलेको छ।
म सुन्न सक्दिन, तर म जनताको पीडा महसुस गर्न सक्छु।
परिवर्तन म मात्रका लागि होइन, हामी सबैका लागि हो।” सुनिता थापा मगर ।
मौनताको आवाज, सुनिता थापा मगरको प्रेरणादायी यात्रा !
स्याङ्जाको विकट गाउँदेखि अन्तर्राष्ट्रिय मन्चसम्म एक असल जनप्रतिनिधि, सामाजिक अभियन्ता र अपाङ्गता अधिकारकी योद्धा ।
नेपालका विकट गाउँमध्ये एक, चापाकोट स्याङ्जामा जन्मिएकी सुनिता थापा मगर आज गण्डकी प्रदेशसभा सदस्यको रूपमा उभिएकी छिन । उनी न त कुनै ठूलो शहरमा हुर्किएकी, न त उनलाई प्रारम्भिक जीवनमा सुविधा र अवसरहरूले सघाएका थिए। तर पनि उनी एक ऐतिहासिक पात्र बनेकी छिन ।गण्डकी प्रदेशसभा मा मगर समुदाय र अपाङ्गता भएका व्यक्तिहरूबाट निर्वाचित पहिलो महिला सुनिता हुन ।

१२ वर्षको उमेरमै संसार मौन भयो त्यसपछि उनले आफैंलाई आवाज बनाइन् । १२ वर्षको उमेरमा श्रवणशक्ति गुमाउनु कुनै बालबालिकाका लागि सानो आघात होइन। तर सुनिता थापा मगरले त्यस मौनतालाई कमजोरी होइन, शक्ति बनाइन्। सुन्न नसक्ने भए पनि उनले समाजका सुन्न नसकिएका आवाजहरूका लागि सदनमा बोलिन्। आज उनी अपाङ्गता भएका व्यक्तिहरूका अधिकारका लागि कानुन निर्माणमा अग्रणी भूमिका खेल्दै छिन्।
ऐतिहासिक विधेयक, गण्डकी प्रदेशको अपाङ्गता विधेयक नेपालमै पहिलोपटक गण्डकी प्रदेशमा बन्न लागेको “अपाङ्गता विधेयक”को मस्यौदा उनीकै नेतृत्वमा तयार भएको छ। यो विधेयक ले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, पहुँच र रोजगारीको क्षेत्रमा ऐतिहासिक परिवर्तन ल्याउने बाटो खोल्नेछ। यो कामले उनलाई केवल गण्डकी प्रदेशका अपाङ्गता समुदायबीच मात्र नभएर सम्पूर्ण देशमा एक प्रेरणाका रूपमा स्थापित गरेको छ।

कोभिड–१९ को संकटमा जनसेवाको अग्रपंक्तिमा
कोभिड महामारीको भयावह समयमा अधिकांश नेता आ–आफ्नो सुरक्षित सीमाभित्र सीमित थिए। तर सुनिता थापा मगर भने गाउँ–गाउँ पुगिन्। सुस्त, गरिब, अपाङ्गता भएका व्यक्तिहरू, वृद्धवृद्धा, अनाथ बालबालिकाहरूलाई खाद्यान्न, स्वास्थ्य सामग्री, सुरक्षा उपकरण, ह्वीलचेयरजस्ता विशेष सामग्रीहरूको वितरण गरेर उनले “जनप्रतिनिधि” शब्दको साँचो अर्थ देखाइन्।
सुस्केरा फाउन्डेशन, जीवनको गहिरो सास ।
“सुस्केरा” जीवनको गहिरो सास भन्ने अर्थ बोकेको संस्थाको स्थापना उनले गरेकी हुन्। यो संस्था अपाङ्गता भएका व्यक्ति, अभिभावकविहीन बालबालिका, वृद्धवृद्धाहरूका लागि सेवा, शिक्षा, स्वास्थ्य र संरक्षणको केन्द्र बनेको छ। यो फाउन्डेसन मार्फत उनले हजारौं मानिसको जीवनमा आशा र सम्मान भरेकी छिन ।
अन्तर्राष्ट्रिय पहिचान र नेतृत्व ।
नेपालभित्र मात्र होइन, सुनिता थापा मगरले अन्तर्राष्ट्रिय मञ्चमा पनि बहिरा र अपाङ्गता समुदायको प्रतिनिधित्व गर्दै आएकी छिन । जापान, दक्षिण कोरिया, थाइल्याण्ड, भारत लगायतका देशहरूमा आयोजित सम्मेलनहरूमा उनी नेपालको आवाज बनिन्। उनले विश्व स्वास्थ्य संगठन (WHO) सँग सहकार्य गर्दै अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, राहत र समावेशी विकासमा योगदान दिएकी छिन ।
अमेरिका भ्रमणको उद्देश्य
हाल उनी अमेरिका प्रस्थान गर्दैछिन्, जहाँ उनले निम्न कार्यहरूमा सहभागी हुने कार्यक्रम रहेको छ ।
लस भेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल ।को प्रतिनिधित्व ।
न्यूयोर्कमा हुने बहिरा तथा अपाङ्गता सम्बन्धी अन्तर्राष्ट्रिय क्याम्पमा सहभागिता ।
नेपाली डायस्पोरा, मगर समुदाय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य विस्तार ।
सुनिता थापा मगर, एक व्यक्ति मात्र होइनन्, परिवर्तनको लहर हुन्। उनी मौनता भित्रको आवाज, अन्धकार भित्रको आशा, र हरेक सीमाभित्र रहेको सम्भावनाको प्रतिनिधित्व हुन्। उनको जीवन हामी सबैका लागि एक सन्देश हो ।
“शरीरिक अवस्था कहिल्यै पनि संकल्पभन्दा बलियो हुँदैन।”