
न्यूयोर्कमा ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा सम्पन्न
मकै हाउस मिडिया,
लङ्गआइल्यान्ड, न्यूयोर्क — शंकर भण्डारी
नेपाल राष्ट्रका निर्माता बडामहाराजाधिराज पृथ्वी नारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस लङ्गआइल्यान्ड, न्यूयोर्कमा पहिलो पटक भव्य रूपमा मनाइएको छ।
राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्ती मूल समारोह समितिको आयोजनामा यहि पौष २९ गते आइतबार, हिक्सभिलस्थित हिमालयन स्पाइसी मिट्सपको सभाहलमा पृथ्वी नारायण शाहको योगदानमाथि केन्द्रित प्रवचन कार्यक्रम गरी कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमको सभापतित्व नेपाल आर्मीका पूर्व मेजर तथा CCNC USA का महासचिव शंकरराज भण्डारीले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली समुदायका अग्रणी व्यक्तित्व तथा एनआरएनए अन्तर्राष्ट्रिय परिषद्का सल्लाहकार वेद प्रसाद खरेल हुनुहुन्थ्यो।

प्रमुख अतिथि खरेलले पृथ्वी नारायण शाहको राष्ट्र एकीकरणमा रहेको ऐतिहासिक योगदान, उहाँका दिव्य उपदेशहरूको समसामयिक महत्व र राष्ट्रिय एकताको अपरिहार्यताबारे प्रकाश पार्नुभयो। उहाँले “चार जात छत्तीस वर्णको साझा फूलबारी” भन्ने पृथ्वी नारायण शाहको विचार आज पनि नेपाली समाजका लागि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो।

कार्यक्रमको सञ्चालन डा. विश्वराज वास्तोलाले गर्नुभएको थियो।
कार्यक्रममा एनआरएन आईसीसी सदस्य टिका ढकाल, एनआरएनए उपाध्यक्ष दिवाकर पाण्डे, नेपाली जनसम्पर्क समिति लङ्गआइल्यान्डका सभापति श्याम पौडेल, सदस्य विपिन भट्ट, लङ्गआइल्यान्ड नेपाली समाजकी उपाध्यक्ष इन्दिरा सिंखडा, सदस्य डा. यम गिरी, समाजसेवी विशाल रेग्मी, सहकुल गिरी, लक्ष्मी वास्तोला, विक्रम क्षेत्री लगायतले मन्तव्य राख्नुभएको थियो।

वक्ताहरूले पृथ्वी नारायण शाहको दूरदर्शी नेतृत्व, स्वाधीनता, आत्मनिर्भरता र सुशासनसम्बन्धी विचारहरू आजको विश्व परिवेशमा अझै मार्गदर्शक बनेको धारणा व्यक्त गर्नुभयो। साथै, विदेशमा रहेर पनि नेपाली पहिचान, राष्ट्रिय एकता र मातृभूमिप्रतिको जिम्मेवारी बिर्सन नहुनेमा जोड दिइयो।

कार्यक्रमले लङ्गआइल्यान्डमा बसोबास गर्ने नेपाली समुदायबीच राष्ट्रिय चेतना, एकता र ऐतिहासिक स्मृतिलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

