
जर्जियामा ड्युटीका क्रममा गोली प्रहार हुदा नेपाली मूलका प्रहरी अधिकृत प्रदीप तामाङको मृत्यु, उनी बिवाहको तयारीमा थिए
मकै हाउस मिडिया, जर्जिया
संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यमा ड्युटीका क्रममा गोली प्रहार हुँदा नेपाली मुलका अमेरिकी प्रहरी अधिकृत प्रदिप तामांगको ज्यान गएको छ भने अर्का एक जना अधिकृत गम्भीर घाइते भएका छन्।
ग्विनेट काउन्टी प्रहरीले आइतबार बिहान करिब ७:३० बजे स्टोन माउन्टेनस्थित पार्क प्लेस बुलेभार्डको एक होटलमा आएको कलमा प्रतिक्रिया जनाउन पुगेका २५ वर्षीय प्रहरी अधिकृत तामाङको मृत्यु भएको पुष्टि गरेको छ। सोही घटनामा कर्पोरल डेभिड रिड गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार होटलको कोठा ठगी गरी भाडामा लिएको आशंकामा पुगेका प्रहरीमाथि ३५ वर्षीय केभिन एन्ड्र्युजले अचानक गोली प्रहार गरेका थिए। जवाफी कारबाहीमा एन्ड्र्युज पनि घाइते भएका छन्। तीनै जनालाई अस्पताल लगिएको थियो।
नेपाल मूलका तामाङ गत बर्षमात्रै ग्विनेट काउन्टी प्रहरी विभागमा आवद्ध भएका थिए र उनी विवाहको तयारीमा थिए। घटनाको अनुसन्धान जर्जिया ब्युरो अफ इनभेस्टिगेसन (GBI) ले गरिरहेको छ।
ग्विनेट काउन्टी प्रहरीले दिवंगत अधिकृत तामाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समुदायको साथ र समर्थनको अपेक्षा गरेको छ ।

