Banner

अमेरिकाको भर्जिनियामा बुवाद्वारा श्रीमती र छोरीको हत्या

 

मकै हाउस मिडिया, 

भर्जिनिया । अमेरिकाको  भर्जिनिया राज्यमा रहेको फेयरफ्याक्स काउन्टीको म्यान्टुवा क्षेत्रमा सोमबार बिहान एक नेपाली परिवारमा भएको घरेलु हिंसाको घटनामा दुई महिलाको ज्यान गएको छ भने आक्रमणकारी प्रहरीको गोलीबाट मृत्यु भएको छ।

Fairfax County Police Department का अनुसार बिहान करिब ५:१५ बजे प्रहरीलाई आपतकालीन फोन आएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीले ५० वर्षीय छत्रबहादुर थापाले आफ्नी ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापामाथि धारिलो हतियार प्रहार गरेको पाएको थियो। दुवै महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रमुख केबिन डेबिसले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “प्रहरी घटनास्थलमा पुग्दा शंकास्पद व्यक्ति हातमा रगत लागेको धारिलो हतियार बोकेर उभिएका थिए। हतियार फ्याँक्न आदेश दिँदा नमानेपछि प्रहरीले गोली चलाएको थियो।” गोली लागेर थापाको पनि मृत्यु भएको उनले बताए। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार थापाले ३५ वर्षीय ज्वाइँ सन्तोष कुमार बस्नेतमाथि पनि सोही हतियारले आक्रमण गरेका थिए। गम्भीर घाइते भएका बस्नेत स्थानीय अस्पतालमा उपचाररत छन्। उनी विराटनगरका स्थायी बासिन्दा हुन्।

ममता र सन्तोषका एक वर्षका छोरालाई भने कुनै चोटपटक लागेको छैन। प्रहरीका अनुसार बालक सुरक्षित छन् र हाल सुरक्षात्मक हेरचाहमा राखिएको छ।

परिवार स्रोतका अनुसार थापाले सन् २०२५ नोभेम्बर १२ मा स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) प्राप्त गरेका थिए र छोरीकै घरमा बस्दै आएका थिए। उनी उदयपुर जिल्लाको बेलका नगरपालिका निवासी हुन्।

थापा लामो समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार गराइरहेका र औषधि सेवन गर्दै आएका थिए भन्ने जानकारी पनि प्राप्त भएको छ।

Loading...