
दशौ बार्षिकोत्सव संगै न्युयोर्कमा “नेपाल डे परेड २०२६ सम्पन्न ।
अक्कल तामाङ, न्यूयोर्क
अमेरिकाको न्युयोर्कस्थित म्यानहटनमा आज “नेपाल डे परेड २०२६” भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । हजारौँ नेपालीहरू बाजागाजा, मौलिक भेषभूषा तथा नेपाल र अमेरिकाको राष्ट्रिय झण्डासहित सहभागी हुँदा म्यानहटन क्षेत्र दिनभर नेपालीमय बनेको थियो ।
दिउँसो १ बजेदेखि सुरु भएको परेड म्यानहटनको ३८ स्ट्रिट र म्याडिसन एभिन्यूबाट प्रारम्भ भई २४ स्ट्रिटसम्म पुगेपछि औपचारिक समारोहमा परिणत भएको थियो । कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो भने विभिन्न जातीय तथा सांस्कृतिक समूहहरूले आफ्नो मौलिक कला, संस्कृति र परम्परा प्रदर्शन गरेका थिए ।

परेडमा नेपाली ढाका टोपी, दौरा–सुरुवाल, गुन्युचोली, शेर्पा, तामाङ, गुरुङ, नेवार, मगर, राई, लिम्बू लगायत विभिन्न जातजातिका परम्परागत पोशाकले विशेष आकर्षण थपेको थियो । सहभागीहरूले पञ्चेबाजा, धिमे बाजा, तामाङ सेलो, साकेला नृत्य, देउडा तथा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गर्दै म्यानहटनका सडकहरूलाई नेपाली कला र संस्कृतिले भरिपूर्ण बनाएका थिए ।

यस वर्षको परेडमा New York City Police Department (NYPD) का प्रतिनिधिहरूले समेत सहभागिता जनाएका थिए ।उनीहरूको उपस्थितिले कार्यक्रमको सुरक्षा तथा समुदायबीचको सहकार्यलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन ।
नेपालको संस्कृति, पर्यटन तथा पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त परेडमा अमेरिका भरिका नेपाली समुदाय, विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, व्यवसायी तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो । आयोजकका अनुसार यस वर्ष करिब पाँच हजारभन्दा बढी नेपाली समुदायका व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको थियो ।

नेपाल डे परेड विगत सन् २०१६ देखि न्यूयोर्कमा निरन्तर आयोजना हुँदै आएको छ । यस वर्षको कार्यक्रम NRNA New York, Federation of Indigenous Peoples of Nepal in America (FIPNA) तथा अन्य दर्जनौँ नेपाली संघसंस्थाको सहकार्यमा सम्पन्न भएको हो ।

कार्यक्रमको समारोहमा बोल्दै वक्ताहरूले विदेशमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र पहिचानलाई जोगाइराख्न नेपाल डे परेडले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए ।उनीहरूले यस्ता कार्यक्रमले नेपाली समुदायबीच एकता, सद्भाव र आपसी सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

