Banner

जेसिका रामोस र बिधनसभा सदस्य उम्मेदवार सोमनाथ घिमिरेको संयुक्त फन्डरेजर कार्यक्रम सम्पन्न ।

 

मकै हाउस सामुदायिक मिडिया, अक्कल तामाङ

क्वीन्स, न्यूयोर्क — डेमोक्रेटिक पाटी न्यूयोर्कको राजनीतिक माहोल तातिरहेको बेला District 13 का सेनटर पदका उम्मेदवार Jessica Ramos र District 30 का एसेम्ब्ली पदका उम्मेदवार Somnath Ghimire को संयुक्त अन्तिम फन्डरेजर कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

मकाई हाउस फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा विभिन्न समुदायका नेता, व्यवसायी, समाजसेवी, युवा तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले निर्वाचनको अन्तिम चरणमा दुवै उम्मेदवारप्रति समुदायको विश्वास र समर्थनलाई झन् स्पष्ट रूपमा उजागर गरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा उपस्थित समर्थकहरूले २० डलर देखि ७०० डलर सम्मका विभिन्न रकम दान गरेका थिए। दुवै उम्मेदवारका समर्थक तथा दाताहरूको संख्या लगभग बराबर देखिए पनि कुल संकलित रकमको हिसाबले सोमनाथ घिमिरे पक्षले केही बढी रकम संकलन गरेको देखिएको थियो।

कार्यक्रमका क्रममा वक्ताहरूले आप्रवासी समुदायको प्रतिनिधित्व, श्रमिक अधिकार, साना व्यवसायको संरक्षण, गुणस्तरीय शिक्षा, सार्वजनिक सुरक्षा तथा किफायती आवासजस्ता मुद्दाहरूमा दुवै उम्मेदवारको प्रतिबद्धताको चर्चा गरेका थिए। सहभागीहरूले समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने र स्थानीय समस्याको समाधानका लागि काम गर्ने नेतृत्वको आवश्यकता औँल्याएका थिए।

आफ्नो सम्बोधनमा जेसिका रामोसले विविध समुदायको आवाजलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा समुदायको सक्रिय सहभागिताको आवश्यकता औँल्याइन्। त्यसैगरी सोमनाथ घिमिरेले अभियानलाई व्यक्तिगत नभई सम्पूर्ण समुदायको अभियानका रूपमा चित्रण गर्दै प्राप्त सहयोग, विश्वास र समर्थनप्रति आभार व्यक्त गरेका थिए।

राजनीतिक रूपमा हेर्दा यो संयुक्त फन्डरेजरलाई निर्वाचनपूर्वको महत्वपूर्ण कार्यक्रमका रूपमा लिइएको छ। क्वीन्सको बहुसांस्कृतिक राजनीतिक शक्तिलाई पुनः एकपटक देखाएको विश्लेषकहरूको भनाइ छ।

कार्यक्रमको अन्त्यमा स्वयंसेवक, दाता तथा समर्थकहरूले निर्वाचनको अन्तिम चरणसम्म मतदाता सम्पर्क, घरदैलो अभियान र जनचेतनामूलक गतिविधिहरूलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

Loading...