Banner

नेपाली कला, संस्कृति र स्वादलाई न्यूयोर्कमा विश्वसामु चिनाउने पाँचौं संस्करण ‘हाम्रो मेला’

 

मकै हाउस मिडिया, अक्कल तामाङ

न्यूयोर्क, नेपाली कला, संस्कृति, परम्परा, हस्तकला र मौलिक खानाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘हम्रो मेला – Himalayan Street Fair’ न्यूयोर्कको ७६औँ स्ट्रिट ज्याक्सन हाइट (Roosevelt Avenue र Broadway बीच) मा जुन २७ बिहान १०:०० बजेदेखि साँझ ६:०० बजेसम्म सञ्चालन हुँदैछ।

आयोजकका अनुसार कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण औपचारिक हुनेछ, जहाँ प्रमुख अतिथि तथा विशिष्ट व्यक्तित्वहरूको स्वागत, उद्घाटन तथा शुभकामना मन्तव्य रहनेछ। त्यसपछि दोस्रो चरण अनौपचारिक अन्तर्गत विविध सांस्कृतिक कार्यक्रम, संगीत, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति हुनेछ।

यस वर्षको मेलामा ४० भन्दा बढी स्टल बुक भइसकेका छन्। स्टलहरूमा नेपाली मौलिक परिकार, हस्तकला, परम्परागत पोशाक, धार्मिक तथा सांस्कृतिक सामग्री र नेपालको पहिचान झल्काउने विभिन्न उत्पादनहरू प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन्।

Screenshot

आयोजकहरूको भनाइ अनुसार मेलाको मुख्य उद्देश्य नेपालको संस्कृति, पर्यटन, कला, परम्परा र नेपाली समुदायको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु हो। नेपाली समुदायसँगै अन्य समुदायका आगन्तुकलाई पनि नेपालको विविधता र मौलिकता नजिकबाट चिनाउने लक्ष्य राखिएको छ।

विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको ‘हम्रो मेला’ नेपाली समुदायबीच लोकप्रिय सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित हुँदै गएको छ।

Screenshot

यस वर्षको मेलाको आयोजनामा निम्जी शेर्पा, दीपेन्द्र लामा, ओम गुरुङ र किशोर गुरुङ रहेका छन् भने कार्यक्रमको सञ्चालन मकै हाउस मिडियाका अध्यक्ष विकी पुलामी ले गर्नेछन्।

कार्यक्रमलाई विभिन्न सामाजिक संस्था, व्यवसायिक प्रतिष्ठान तथा सञ्चार माध्यमहरूको सहयोग प्राप्त भएको छ। मेलामा परिवारसहित सहभागी भई नेपाली खाना, कला, संस्कृति, संगीत र सामुदायिक एकताको अनुभव लिन आयोजकले सम्पूर्ण समुदायलाई हार्दिक निमन्त्रणा दिएका छन्।

 

Loading...