Banner

नर्थ क्यारोलाइनाको हिमालयन फुटबल क्लबको दोस्रो वार्षिकोत्सव सम्पन्न

 

मकै हाउस मिडिया, न्युयोर्क 

आरटीपी, नर्थ क्यारोलाइना ।  नर्थ क्यारोलाइनास्थित रिसर्च ट्रायंगल पार्क (आरटीपी) क्षेत्रमा सक्रिय हिमालयन फुटबल क्लब को दोस्रो वार्षिकोत्सव अक्टोबर ३१ मा भव्य रूपमा सम्पन्न भएको छ। लेक ह्विलर पार्कमा आयोजित कार्यक्रममा नेपाली समुदायका अगुवा, फुटबल खेलाडी, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, प्रायोजक तथा स्थानीय नेपाली समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा नर्थ क्यारोलाइना नेपाली कम्युनिटीका कोषाध्यक्ष अभिषेक पोखरेल र आरटीपी दशैं कपका संस्थापक विकास सापकोटाले संयुक्त रूपमा हिमालयन फुटबल क्लबको दोस्रो वार्षिकोत्सव समारोहको औपचारिक उद्घाटन गर्नुभएको थियो।

कार्यक्रमका अवसरमा क्लबलाई सहयोग पुर्‍याउँदै आएका विभिन्न व्यवसायी तथा प्रायोजकहरूलाई आयोजकका तर्फबाट सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा रेग्मी होम्सका पुष्पल रेग्मी र पेशल रेग्मी, हिमालयन अटोका बिबेक लामा, युनाइटेड रियल इस्टेटका जीतमान बस्नेत, नाभ रियल्टीका सन्तोष खटिवडा तथा भीआरजी रियल इस्टेटका नवराज सुवेदी रहनुभएको थियो। क्लबको गतिविधि र सामुदायिक अभियानमा सहयोग पुर्‍याउने प्रायोजक तथा व्यवसायीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

नर्थ क्यारोलाइनामा फुटबल खेलको प्रवर्द्धन गर्नुका साथै नेपाली समुदायबीच आपसी भाइचारा, एकता र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले हिमालयन फुटबल क्लबको स्थापना गरिएको हो। क्लबका अध्यक्ष भूपाल कोइराला रहनुभएको छ भने टंक सेलिङ र निकेश बस्नेत सञ्चालन समितिका सदस्यका रूपमा आबद्ध हुनुहुन्छ।

कार्यक्रममा खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो। आरटीपी दशैं कपका विजेता टोलीका कप्तान सुनील केसी, प्रतियोगिताका उत्कृष्ट खेलाडी भुवनसिंह कार्की तथा ईसीसी कप विजेता टोलीका कप्तान अंकुर अधिकारीलाई आयोजकले सम्मान गरेको थियो। खेलाडीहरूको योगदान र उपलब्धिको कदर गर्दै गरिएको सम्मानले कार्यक्रममा थप उत्साह थपेको थियो।

त्यसैगरी, फुके एफसी का आङछिरिङ शेर्पा, प्रवीण खनिया, दीप रिसाल र अशोक सुवेदीलगायतको उपस्थिति रहेको कार्यक्रममा आरटीपी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको उल्लेख्य सहभागिता थियो। विभिन्न क्षेत्र र पेसामा आबद्ध नेपालीहरूको उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण र आत्मीय बनाएको थियो।

क्लबका अध्यक्ष भूपाल कोइरालाले “एक क्लब, एक परिवार, एक समुदाय भन्ने मूल नाराका साथ अघि बढिरहेको हिमालयन फुटबल क्लबको दोस्रो वार्षिकोत्सवले आरटीपी क्षेत्रमा नेपाली समुदायबीचको एकता, सहकार्य र सामूहिक भावनालाई थप मजबुत बनाएको बताउनुभयो। उहाँका अनुसार क्लबको उद्देश्य फुटबल खेलको विकासमा योगदान पुर्‍याउनु मात्र नभई खेलकुदलाई नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र सामाजिक सम्बन्ध विस्तार गर्ने साझा माध्यमका रूपमा स्थापित गर्नु पनि हो।

क्लबले आगामी दिनमा पनि फुटबल तथा विभिन्न सामुदायिक गतिविधिमार्फत नेपाली समुदायलाई एकताबद्ध गर्ने लक्ष्य लिएको क्लबले खेलकुदको विकाससँगै नेपाली समुदायबीच आपसी भाइचारा, सद्भाव, सहकार्य र सामाजिक सम्बन्ध, सामुदायिक एकता र सहकार्यसँग जोड्दै अघि बढिरहेको हिमालयन फुटबल क्लबले आगामी दिनमा पनि नेपाली समुदायलाई एकताबद्ध गर्ने अभियानलाई निरन्तरता दिने जनाईएको छ । 

 

 

Loading...