
क्यालिफोर्नियाबाट रश्मिता बेपत्ता, एक्लिएकी आमाको छोरी खोजिदिन आग्रह ।
मकै हाउस टिभी एण्ड न्युज,
क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यबाट रश्मिता अधिकारी बेपत्ता भएकी छन्, छोरी हराएपछी एक्लिएकी आमाले छोरी खोजिदिन आग्रह गरेकी छन् ।
गत अप्रिल २९,२०२४ सोमबार बिहान ६ः३० बजे तिर ग्रोसरी किन्न भनि निस्किएकी क्यालिफोर्नियाको नर्थरिज बस्ने ४१ बर्षकी रश्मिता अधिकारी पछि परिबर्तन गरिएको नाम जोरा जाया बेपत्ता भएकी हुन् । आफन्त बिशाल सुबेदीले दिएको जानकारी अनुसार रश्मिता (जोरा जाया) संगै बस्ने ६२ बर्षिया आमालाई अपार्टमेन्टमा छाडी बिहानै तरकारी किन्न नजिकको ग्रोसरी पसलमा ल्यापटप, ल्यापटपको चार्जर र कार लिएर निस्किएकी थिईन् त्यसपछी उनि सम्पर्क बिहिन भएको हो ।

करिब २ दशक पहिले बिधार्थि भिसामा अमेरिका आएकी किर्तिपुरकी रश्मिता (जोरा जाया) २०१० सम्म न्युयोर्कमा बसोबास गर्दै आएकी थिईन् त्यसपछि उनि क्यालिफोर्निया बसाई सरेको हो ।
रश्मिताको सानिआमाको छोरा अंकित अधिकारीले फोन मार्फत मकै हाउस न्युज.कमलाई जानकारी गराउदै केहि बर्ष पहिले रश्मिताको बाबाको क्यान्सर रोगका कारण मृत्यु भएपछी नेपालमा आमा एक्लै बस्दै आएकी थिईन् पछि नेपालमा एक्लिएकी आमालाई रश्मिताले ४ बर्ष पहिले अमेरिका ल्याई संगै बस्दै आएकी थिईन् ।

रश्मिता परिवारमा एक्ली सन्तान भएकीले नेपालमा बसोबास गर्नुहुने बाबा र आमा मध्ये बाबाको निधन पश्चात छोरीको आग्रहमा नेपालमा भएको सम्पुर्ण सम्पती बिक्री गरी अमेरिकामै छोरी संग घर किनी बस्ने योजना सहित ४ बर्ष पहिले ६२ बर्षकी आमा ज्ञानु अधिकारी अमेरिका आएको अंकितले बताएका छन् । तर नेपालबाट ल्याएको सम्पुर्ण सम्पत्ती सिद्धीएपछी केहि महिना देखि आफु बस्दै आएको अपार्टमेन्टको पनि भाडा तिर्न नसकेको र केहि समय पहिले कार दुर्घटनामा पनि परेको रश्मिता मानसिक तनावमा रहेको अनुमान समेत गरेका छन् ।
गत सोमबार देखि छोरी रश्मिता बेपत्ता भएपछी आमा ज्ञानु अधिकारीको बिजोग भएको छ । नजिकको प्रहरी चौकीमा पनि खबर गरिसकेको र सबै मिली रश्मिताको खोजी कार्यमा सहयोग पुर्याउन आमा ज्ञानुले आग्रह गरेकी छन् ।
