Banner

मुगु जिल्लाको प्रथम चलचित्र निर्देशक टोमा लामाको “फेके” न्युयोर्कमा प्रर्दशन

 

मकै हाउस मिडिया, 

जनवरी ११, २०२५ शनिबारका दिन न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल(मुगोम)समुदायको र मुगु जिल्लाको प्रथम चलचित्र निर्देशक टोमा लामाले निर्देशन गरेको सीमान्तकृत मुगाल(मुगोम) समुदाय र निर्देशक टोमाको दोस्रो चलचित्र “फेके]-Mother Tongue” भव्य प्रर्दशन भएको छ ।

 

न्यूयोर्कमा बसोबास गर्ने विभिन्न क्षेत्र, पेशा तथा व्यवसायमा संलग्न विशेष व्यक्तित्वहरु “फेके” चलचित्र हेर्न उपस्थित् भएका थिए । उपस्थित् दर्शकहरुले चलचित्र “फेके” हेरीसकेपछि सबैले खुलेर तारिफ गर्नुका साथै राम्रो प्रतिक्रिया पनि पाएका छन् । यस्ता सन्देशमुलक चलचित्रहरु आगामी दिनहरुमा पनि आउनु पर्दछ भनेर दर्शक महानुभावहरुले प्रतिक्रिया दिएका थिए ।

निर्देशक टोमा लामा कर्णाली क्षेत्रको पहिलो महिला चलचित्र निर्देशक पनि हुन् । “फेके” चलचित्र नेपाल सरकार चलचित्र विकास बोर्डबाट 2017 मा सम्मानित चलचित्र हो । फेके चलचित्र Nepal Indigenous Film Festival New York 2017 मा Best short movie Nominated चलचित्र हो भने नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव 2017 मा पनि प्रदर्शन भई सम्मानित भएको हो । निर्देशक टोमा लामा र चलचित्रको मुख्य भुमिकामा रहेको निर्देशक टोमा लामाको बाबा आङग्याल लामाले अमेरिकाको न्यूयोर्कमा आयोजना गरेको Nepal Indigenous Film Festival New York 2017 मा चलचित्र “फेके” को निर्देशक र नायकको हिसाबले उपस्थित् भई भाग लिएका थिए । “फेके” चलचित्रको प्रतिनिधित्व गर्दै छोरी टोमा निर्देशक रुपमा र बाबा आङग्याल नायक रुपमा नेपालबाट सो न्यूयोर्क फेस्टीबलमा उपस्थित् भई भाग लिने एक मात्र नेपाली थिए । संभवतः संसारमा विरलै होला चलचित्रमा छोरी निर्देशक र बाबा नायक भई बनेको चलचित्र । अन्य विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय फिल्म फेस्टीबल हरुमा प्रर्दशन भइसकेको फेके चलचित्र सत्य घटनामा आधारित सीमान्तकृत मुगाल समुदायको एक जना व्यक्तिले आफ्नो मुगाल मातृभाषाको संरक्षण र संवद्र्धन, विकास तथा प्रचार प्रसार र सुचनाको हकको लागि राज्यसंग गरेको संघर्षको नालीबेली र लामो संघर्ष पछि उसले प्राप्त गरेको सफलताको कथा नै चलचित्र “फेके” को मुख्य विषयवस्तु हो । मुगाल समुदायको मात्र नभई विश्वका हरेक एक आदिवासी तथा मातृभाषा बोल्ने समुदायहरुको प्रतिनिधिको रुपमा यस चलचित्रको कथाले उठान गरेको छ । आङग्याल लामा मुख्य भुमिका रहेको चलचित्रमा अन्य कलाकारहरु गोविन्दा प्रभात, मनोज कुमार भेटवाल, गंगा लिम्बु, राजु मोरे र दोर्जे मोक्तान र खेन्पो पेमा ग्याछो डावा ख्यूङकार, आचार्य ङवाङ लादाकी, फुर्बा तेन्जिङ शेर्पा, दावा शेर्पा, नोर्वु गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ, निर्देशक टोमा लामा स्वयंको पनि अभिनय रहेको छ ।


चलचित्र हेर्नका लागि युनाइटेड शेर्पा एसोसियसन यु.एस.ए इंक का अध्यक्ष तेम्बा शेर्पा र पूर्व अध्यक्ष उर्गेन शेर्पा,तत्कालिन नेपाल सरकार, न्यूयोर्कका लागि नेपालको पर्यटन सद्भावना दूत तथा अमेरिकाको लोकप्रिय समाजसेवी केशव राम राई, हेलो अमेरिकाको चर्चित प्रस्तोता सुमन थाम्सुहाङ लिम्बू, वरिष्ठ चलचित्र निर्देशक किशोर सुब्बा, नायिका यन्सरी तमु, Minority Empowerment Network का अध्यक्ष श्याम कार्की, युनाइटेड मुगुम अर्गानाइजेशन इंकका अध्यक्ष छिरिङ तेम्बा तथा पूर्व अध्यक्ष आङग्याल लामा र न्यूयोर्कका सक्रिय युवा सदु लिम्बू लगायतका थुर्पै न्यूयोर्कका चिरपरिचित विभिन्न पेशामा संलग्न व्यक्तित्वहरु ज्यूहरुको उपस्थिती थियो । भी.आइ.पी टिकट लिनुभएका धेरै विशेष व्यक्तित्व ज्यूहरु कार्य व्यस्तताका कारण नआएको निर्देशक टोमा लामाले बताउनु भयो ।


चलचित्र फेके हेरिसकेपछि विभन्न दर्शक व्यक्तित्वहरु ज्यूहरुले फिल्मप्रति आ–आफ्नो प्रतिक्रिया दिएका छन्। तत्कालिन युनाइटेड शेर्पा एसोसियसन यु.एस.ए इंक का अध्यक्ष तेम्बा शेर्पाले पनि चलचित्र फेके हेरिसके पछि आफ्नो प्रतिक्रिया दिएका छन् । सवैप्रथम टोमा बहिनीलाई धेरै धेरै धन्यबाद, एउटा विकट ठाउँको आदिवासी समुह मुगु जस्तो ठाउँको नारी भएर समाजमा यस्तो खालको तरंग ल्याउनु ठूलो कुरा हो । हाम्रो पिडाहरु अझ चर्को छ तर यो फिल्ममा निर्देशकले मध्यमार्गी भएर विषयलाई उठान गरेको एकदम उत्कृष्ट लाग्यो । नेपालका आदिवासीहरुको पिडाहरु पोखिएका छ, कसैको विरोध भन्दा पनि आफ्नो आवाजलाई सशक्तरुपले उठाएको छ । यस्तै हुनुपर्दछ हाम्रो आदिवासीका महिलाहरु भनेर आफ्नो धारणा राखे ।


नेपाल सरकार, न्यूयोर्कका लागि नेपालको पर्यटन सद्भावना दूत तथा अमेरिकाको लोकप्रिय समाजसेवी केशव राम राईले भन्नु भयोः एउटा मुगु जस्तो दुर्गम ठाउँ र सीमान्तकृत समुदायको महिला भएतापनि निर्देशक टोमा लामाले एउटा गहन र नेपालमा भइ परी आएको विभिन्न समुदायले भोग्दै आएको समस्यालाई उजागर र समाधानको उपायालाई यस चलचित्रले उजागर गरेको छ । यो चलचित्र छोटो भए पनि यसको सन्देश लामो र अत्यन्तै गहन छ । यो चलचित्रबाट हरेक एकले र अझ हरेक नेपालका सरकारी कर्मचारीहरुले हेर्नै पर्ने चलचित्र छ । म कहिल्यै फिल्म नहेर्ने मान्छे आज यो फिल्मले मेरो मन छोयो भनेर भन्नु भयो ।


त्यसै गरी हेलो अमेरिकाका चर्चित होस्ट एवं मोडल तथा कलाकार सुमन थाम्सुहाङ लिम्बुले भन्नुभयो, मुगु जिल्लाकै प्रथम चलचित्र निर्देशक एवं नायिका टोमा लामाको निर्देशकीय पक्ष एकदम राम्रो लाग्यो, उहाँको प्रथम चलचित्र पनि हामीले हेरिसकेका र्छौ, त्यो पनि एकदम राम्रो लाग्यो, यो चलचत्रिले सुचनाको हक अधिकार विषयमा बोलेको छ । जुन सुकै मातृभाषा बोल्ने नागरिकलाई आफ्नो मातृभाषाबाट सूचनाको हक हुनुपर्दछ भन्ने सन्देश दिएको छ ।

मुगोम समुदाय कथा उठान गरेता पनि काठमाण्डौं राजधानीकै भक्तपुरको केही नेवार समुदायका व्यक्तिहरु अहिले पनि आफ्नो नेवार भाषा मात्र बोल्ने छन् र उनीहरु नेपाली भाषा बोल्दैनन् । निर्देशक टोमा लामाले आफ्नै बाबा आङग्याल लामालाई मुख्य कास्ट गरेको छ उहाँको बाबाले यो उमेरमा पनि अभिनय एकदम राम्रो गर्नुभएको छ । यो चलचित्र सबैले हेरी दिनु होला ताकि उहाँलाई अर्को चलचित्र बनाउन हौसला मिलोस् भनेर प्रतिक्रिया दिए ।

त्यसैगरी नायिका यन्सरी तमुले निर्देशक टोमा लामा र उहाँको बाबा आङग्याल लामाले मुगु जिल्लाको मुगाल समुदायको उत्थान, भाषा, सस्कृति बचाउनको लागि चलचित्र मार्फत् पर्दामा उतारेर विश्वमा चिनाउने काम गर्नु भएको छ । यो अत्यन्तै राम्रो काम गरेको छ । म आफै पनि कलाकार भएको हुनाले उहाँ जस्तो महिला निर्देशक पाएको म एकदमै गर्व गर्छु । निर्देशक टोमा लामालाई भविष्यमा पनि सबै जनाको साथ सर्पोट दिनुहोला भनेर आव्हान पनि गरे ।


त्यसैगरी, न्यूयोर्कका सक्रिय युवा सोदु लिम्बूले भने, चलचित्र फेके हेरी सकेपछि , एउटा व्यक्तिले आफ्नो मातृभाषाको संरक्षण संवद्र्धन र विकासको लागि के कति दुःख र संर्घष गरेको छ भन्ने कुरालाई चलचित्रमा देखाएको छ । यो चलचित्रमा भगवान् गौतम बुद्ध तथा बौद्ध धर्मको मन्त्र र धुनले मनलाई आनन्द पारेको छ । कुनै पनि नयाँ जन्मिने शिसुको पहिलो भाषा नै मातृभाषा हो उसको जीन(Gene) मा नै मातृभाषा हुन्छ, उसले अरु भाषामा भन्दा मातृभाषामा सजिलै सिक्न सक्छ । त्यसैले यो चलचित्र आजको दिनमा एकदम सान्र्दभिक छ भनेर आफ्नो प्रतिक्रिया दिए ।

चलचित्र प्रर्दशनका दिन सबै प्राविधिक पक्षको काम हेलो अमेरिका टीभी एण्ड नीउजका संचारकर्मी तथा सिनेमेटोग्राफर सम्राट कार्कीले गर्नुभएको थियो ।
निर्देशक टोमा लामाले यो भन्दा पहिले मुगाल(मुगोम) समुदायको पहिलो चलचित्र “सोल्जी” निर्देशन गरेको थियो । उक्त चलचित्र पनि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय फिल्म फेस्टीबलमा भाग लिई प्रर्दशन भई सम्मान तथा अवार्ड पाइसकेको छ । हाल यो चलचित्र “सोल्जी” Toma Lama YouTube Channel मा हेर्न सक्नुहुने छ । चलचित्र फेके पनि केही समय पछि Toma Lama YouTube Channel मा हेर्न सक्नुहुने छ ।

Loading...