Banner

अमेरिकामा तामाङ विद्यार्थीका लागि TSNA को ऐतिहासिक पहल — ‘शिक्षा गुम्नु हुन्न, साथ छ हाम्रो’

 

मकै हाउस मिडिया, राजु तामाङ

अमेरिका — तामाङ समाज उत्तर अमेरिका (TSNA) ले शिक्षा गुमाउने अवस्थामा पुगेका अमेरिका भरिका तामाङ विद्यार्थीहरूलाई बचाउन ऐतिहासिक र प्रेरणादायी पहल सुरु गरेको छ। कलेज शुल्क तिर्न नसकेर पढाइ रोकिने अवस्थामा पुगेका विद्यार्थीहरूलाई आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले ‘हेल्प डेस्क’ स्थापना गर्दै, समाजले विद्यार्थीहरूको उज्यालो भविष्यका लागि मार्ग खोलिदिएको छ।

अध्यक्ष मोहन वाइबा र उपाध्यक्ष अनु तामाङको नेतृत्वमा सुरु गरिएको यो अभियानले हालसम्म चार जना विद्यार्थी — रोशन तामाङ, श्रीया लामा, ओशिन तामाङ, र आमिशा मोक्तान लाई कलेज शुल्क जुटाउन सहयोग गरिसकेको छ। यो मात्र सुरुवात हो — TSNA को अभियानले भविष्यमा अझ धेरै विद्यार्थीहरूलाई समेट्ने अठोट लिएको छ।

‘शिक्षा नै भविष्य हो’ भन्ने अमूल्य सन्देश बोकेर अघि बढेको यो प्रयासले नेपाली समुदायबीच सकारात्मक चेतना र एकताको भावना बलियो बनाइरहेको छ। पैसाको अभावले पढाइ गुमाउनु नपरोस् भन्ने सोचका साथ सञ्चालित यो अभियान सम्पूर्ण नेपाली डायस्पोराका लागि प्रेरणाको स्रोत बन्नेछ।

TSNA ले सम्पूर्ण समुदायलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न र भविष्य निर्माणको यात्रामा साथ दिन आग्रह गरेको छ। एक विद्यार्थीको सपना बचाउने सानो हातले भोलिको समाज उज्यालो बनाउँछ।

साथ, सद्भाव र सहयोगले सधैं यस्तै उदाहरणीय कामहरू अघि बढिरहोस्।

 

Loading...