Banner

तामाङ सोसाइटी अफ अमेरिका (TSA) ले यस वर्षको बुद्ध जयन्ती भव्यताका साथ मनाउदै

 

मकै हाउस मिडिया, न्यूयोर्क, अमेरिका राजु तामाङ

तामाङ सोसाइटी अफ अमेरिका (TSA) को आयोजनामा यस वर्षको बुद्ध जयन्ती भव्यताका साथ मनाउन लागिएको छ। सो अवसरमा पुजापाठ, बुद्ध धर्मसम्बन्धी प्रवचन तथा सामुदायिक एकताको सन्देश सहितको विशेष कार्यक्रम आयोजना गरिँदैछ।

बुद्ध जयन्ती, जुन दिन बुद्धको जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण भएको मानिन्छ, संसारभरिका बौद्ध धर्मावलम्बीहरूद्वारा श्रद्धा र भक्तिपूर्वक मनाइन्छ। यस दिनको महत्वलाई आत्मसात गर्दै TSA ले आत्मचिन्तन, सेवा र सहअस्तित्वको मार्गप्रति प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रममा सहभागी सबै महानुभावहरूलाई आमन्त्रण गर्दै TSA महासचिव चाँदनी लामाले भन्नुभयो, “बुद्धको शिक्षाले हामीलाई करुणा, सहिष्णुता र मेलमिलापको बाटो देखाउँछ। यस कार्यक्रममार्फत हामी त्यही शिक्षालाई व्यवहारमा उतार्ने प्रयास गर्दैछौं।”

यस वर्षको बुद्ध जयन्ती कार्यक्रम मात्र एक सांस्कृतिक कार्यक्रम नभएर तामाङ समुदायका लागि ऐतिहासिक पाइला पनि बन्नेछ। TSA ले आफ्नो दीर्घकालीन लक्ष्य अनुसार तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्र (TCBC) को भवन खरिद गर्ने अभियान पनि यसै अवसरमा अघि बढाउने भएको छ।

TSA का अनुसार, TCBC भवन केवल एउटा संरचना नभएर समुदायको पहिचान, संस्कृति र भविष्यको प्रतिबिम्ब हुनेछ। यस अभियानमा सहभागी हुन $500 वा सोभन्दा बढी सहयोग गर्ने महानुभावहरूलाई ट्रस्टीको रूपमा सम्मान गरिनेछ भने $500 भन्दा कमको सहयोग यस वर्षको कार्यक्रम सफल बनाउन प्रयोग गरिनेछ।

समुदायको एकता, सद्भावना र सामूहिक प्रयासले मात्र साझा सपना साकार पार्न सकिने भन्दै TSA ले सम्पूर्ण तामाङ तथा नेपाली समुदायलाई यो अभियानमा सहर्ष सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ।

 

Loading...