
हेल्थी किड्स रनिङ सिरिजले लङ्ग आइल्याण्डका बाल खेलाडीहरूलाई प्रेरित गर्यो
मकै हाउस मिडिया, लंग आईल्याण्ड संवादाता
रकभिल सेन्टर, न्यूयोर्क — उत्साह र उमङ्गले भरिएको वातावरणमा हेल्दी किड्स रनिङ सिरिज (Healthy Kids Running Series) को शरद ऋतु संस्करण यस साता रकभिल सेन्टर रिक्रिएसन सेन्टर (१११ नर्थ ओसनसाइड रोड, रकभिल सेन्टर, न्यूयोर्क) मा सफलतापूर्वक सम्पन्न भयो। सेप्टेम्बर २१ देखि अक्टोबर २६ सम्म लगातार पाँच आइतवारसम्म चलेको यस कार्यक्रममा लङ्ग आइल्याण्डका विभिन्न विद्यालयका सयौँ बालधावकहरूले सहभागिता जनाएर स्वास्थ्य, खेल भावना र मित्रतापूर्ण प्रतिस्पर्धाको उत्सव मनाए।

कार्यक्रमको उद्देश्य बालबालिकामा सक्रिय जीवनशैली, आत्मविश्वास र खेलप्रतिको लगाव विकास गर्नु हो। प्रत्येक हप्ता प्रि–केदेखि पाँचौँ कक्षा सम्मका बालबालिकाहरूले उत्साह, धैर्यता र दृढतापूर्वक प्रतिस्पर्धा गर्दै खेलमैदानमा उत्कृष्ट प्रदर्शन गरे।

यस वर्षका उत्कृष्ट विजेताहरू यसप्रकार रहेका छन्:
• प्रि–के (५० यार्ड ड्यास): केटा – कालेब चार्डर | केटी – लौरा बास्सी
• प्रि–के ४/५ (७५ यार्ड ड्यास): केटा – जेम्स लिगुओरी | केटी – एनास्टेसिया क्रोसफ्स्की
• किण्डरगार्टेन र पहिलो कक्षा (१/४ माइल): केटा – आमोद ढकाल | केटी – सोफी लिगुओरी
• दोस्रो र तेस्रो कक्षा (१/२ माइल): केटा – इथान बास्सी | केटी – ब्रिन हिक्की
• चौथो र पाँचौँ कक्षा (१ माइल): केटा – ड्यानियल क्लान्सी
यस सिजनका विशेष आकर्षण बनेका ६ वर्षका आमोद ढकाल ले सहभागी भएका चारै दौडमा पहिलो स्थान हासिल गर्दै पदक र ट्रफी दुबै जिते। उनको उत्कृष्ट प्रदर्शनले बालप्रतिभामा समर्पण र निरन्तर अभ्यासको महत्त्व उजागर गर्यो।

कार्यक्रमकी एक आयोजक साराले भनिन, “हामी बालधावकहरूको प्रतिबद्धता र उत्साहबाट अत्यन्त प्रभावित भयौं। हेल्दी किड्स रनिङ सिरिजले बालबालिकालाई रमाइलो तरिकाले फिटनेस, टीमवर्क र अनुशासन सिक्ने अवसर प्रदान गर्छ।”

आमोदका अभिभावकले भने, “हामी अमोदको उपलब्धिप्रति अत्यन्त गर्वित छौँ। उसको निरन्तर अभ्यास, मेहनत र दौडप्रतिको लगनले यो सफलता सम्भव बनायो। यस्ता कार्यक्रमहरूले बालबालिकालाई आत्मविश्वासी, सक्रिय र प्रेरित रहन सहयोग गर्छन्।”

यस शरद ऋतु सिजनको सफल समापनसँगै, हेल्दी किड्स रनिङ सिरिज ले फेरि एकपटक प्रमाणित गरेको छ कि समुदायका यस्ता पहलहरूले बालबालिकामा स्वास्थ्यप्रतिको सचेतना बढाउँछन्, परिवारहरूलाई नजिक ल्याउँछन्, र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्छन्।

