Banner

बालेन र रवि लामिछानेबीच वार्ता सम्पन्न, चुनाव चिन्ह घण्टी, भावी प्रधानमन्त्रीमा बालेन सहमति

 

मकै हाउस मिडिया, 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच बृहद् एकताको सहमति भएको छ। भ्रष्टाचार, कुशासन र असफल राजनीतिक अभ्यासका विरुद्ध संयुक्त आन्दोलनलाई संस्थागत गर्दै वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने उद्देश्यसहित दुबै पक्षबीच लिखित सहमति भएको हो।

सहमति अनुसार बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच बृहद् एकता कायम गरी नयाँ राजनीतिक दलको रूपमा अगाडि बढ्ने निर्णय गरिएको छ। एकतापछि दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी” नै रहनेछ भने पार्टीको चुनाव चिन्ह घण्टी रहने सहमति भएको छ। घण्टी चिन्ह नीलो पृष्ठभूमिमा सेतो रङको गोलाकार घेराभित्र नीलो घण्टीको आकृतिमा रहने उल्लेख गरिएको छ।

दुवै पक्षले विगतका आन्दोलनमा घाइते तथा शहीद भएका नागरिकप्रति सम्मान व्यक्त गर्दै उनीहरूको परिवारको माग यथोचित सम्बोधन गर्न प्रतिबद्धता जनाएका छन्। साथै, सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणमार्फत नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने साझा लक्ष्यमा सहकार्य गर्ने सहमति भएको छ।

सहमति पत्रमा एकतापछि पार्टीको संगठनात्मक संरचनालाई अझ सशक्त र फराकिलो बनाउँदै युवा अभियन्ता, विज्ञ तथा अनुभवी व्यक्तिहरूलाई समावेश गरी योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने उल्लेख छ।

राजनीतिक नेतृत्वको विषयमा पनि स्पष्ट सहमति जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि पार्टीको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह हुने सहमति गरिएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ।

यो सहमति अनुसार पार्टीसम्बन्धी सम्पूर्ण कानुनी तथा औपचारिक प्रक्रिया निर्वाचन आयोगमा दर्ता गरिनेछ। साथै, घण्टी चुनाव चिन्हअन्तर्गत लोकतान्त्रिक सुशासन, सहमति र सामाजिक न्यायको मुद्दा थप बलियो बनाउँदै अन्य सुधारवादी तथा परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई सहकार्यका लागि आह्वान गरिएको छ।

उक्त सहमति २०८२ पुष १३ गते काठमाडौंमा हस्ताक्षर भएको हो।

सहमति पत्रमा रवि लामिछाने र बालेन्द्र शाहले हस्ताक्षर गरेका छन्।

 

 

 

Loading...