
दीक्षान्तको तयारीमा रहेका २२ वर्षीय विद्यार्थी मृत अवस्थामा फेला ।
मकै हाउस सामुदायिक मिडिया, अक्कल तामाङ
न्युयोर्क । अमेरिकाको केन्टकी राज्यमा विगत एक महिनादेखि बेपत्ता रहेका २२ वर्षीय विद्यार्थी मरे फाउस्ट मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार उनको मृत्युमा कुनै प्रकारको आपराधिक गतिविधि वा हत्याको शंका भने गरिएको छैन । मरे माउन्ट नाम गरेको ति विद्यार्थी ‘नर्दन केन्टकी युनिभर्सिटी’ विश्वबिद्यालयमा अध्ययनरत थिए । अप्रिल २७ तारिखमा कोभिङ्टन शहरको लाटोनिया क्षेत्रमा अन्तिम पटक जीवितै देखिएको उनी बेपत्ता भएपछि प्रहरीले अप्रिल ३० मा सर्वसाधारणसँग खोजी कार्यका लागि सहयोगको अपिल गर्दै चेतावनी जारी गरेको थियो।
लामो समयको खोजीपछि आइतबार एउटा स्वतन्त्र खोजी टोलीले वाइल्डर शहरमा अवस्थित एउटा पुरानो इस्पात (स्टिल) कारखानाको क्षेत्रमा फाउस्टको शव फेला पारेको थियो ।क्याम्पबेल काउन्टीको कोरोनर (शव परीक्षण गर्ने कार्यालय) मा राखेको शवको मृत्युको वास्तविक र आधिकारिक कारण शव परीक्षणको नतिजा आएपछि मात्रै थाहा हुने कुरा अनुसन्धानमा खटिएका प्रहरीले बताएको छ्।
कोभिङ्टन प्रहरी विभागले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यस अत्यन्तै कठिन समयमा हामी फाउस्टको परिवार र उनका प्रियजनहरू प्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। यो दुखद क्षण भए पनि शव भेटिएकाले परिवारले केही जवाफ र मनको शान्ति पाउनेछन् भन्ने आशा राखेका छौँ।”
एबिसीन्यूजका अनुसार फाउस्टको खोजीका लागि प्रहरीले मानव रहित यान चित्रग्राहिणी (ड्रोन क्यामरा), पानीमा उद्धार गर्ने टोली र विभिन्न प्रविधिको प्रयोग गरेको थियो।
विश्वविद्यालयको ‘कलेज अफ आर्ट्स एन्ड साइन्सेज’ मा फाइन आर्ट्स (ललितकला) पढिरहेका फाउस्ट यही महिनामा स्नातक तह उतिर्ण गरेर दीक्षित हुने तयारीमा थिए।
विश्वविद्यालयका प्रवक्ताले यो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै फाउस्टको निधनले सम्पूर्ण क्याम्पस परिवार स्तब्ध भएको र खोजी कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। पत्रपत्रिकाका अनुसार फाउस्ट “तेस्रोलिङ्गी” हुन् ।


