Banner

न्युयोर्कमा ८औँ वार्षिक “नेपाली महिला साँझ २०२६” को तयारी तीव्र

 

मकै हाउस सामुदायिक मिडिया, अक्कल तामाङ

न्युयोर्क । नेपाली समुदायका महिलाहरूको सशक्तीकरण, एकता र सामाजिक सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ “८औँ वार्षिक नेपाली लेडिज साँझ २०२६” आयोजना हुने भएको छ।

आयोजक संस्था Hamro Ama Inc. ले सार्वजनिक गरेको जानकारीअनुसार कार्यक्रम आगामी जुन २०, २०२६ (शनिबार) न्युयोर्कको गुलशन टेरेस, वुडसाइड मा साँझ ७ बजेदेखि राति २ बजेसम्म सञ्चालन हुनेछ।

आयोजकका अनुसार कार्यक्रमले नेपाली महिलाबीच आपसी सद्भाव, अनुभव आदानप्रदान तथा नेतृत्व विकासका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ। “महिला सशक्तीकरण, बहिनीचारा र सामाजिक एकता” लाई मुख्य नाराका रूपमा अघि सारिएको यस कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम तथा सहभागितामूलक गतिविधिहरू समावेश गरिनेछ।

न्युयोर्क तथा आसपासका राज्यहरूमा बसोबास गर्ने नेपाली महिलाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममार्फत महिलाहरूलाई आफ्ना अनुभव साझा गर्ने, नयाँ सम्बन्ध विस्तार गर्ने तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने अवसर प्राप्त हुने आयोजकको विश्वास छ।

कार्यक्रममा सहभागी हुनका लागि प्रवेश शुल्क ७० अमेरिकी डलर तोकिएको छ, जसमा खाना तथा पूरक पेय पदार्थको व्यवस्था रहने जनाइएको छ। १६ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू कार्यक्रममा सहभागी हुन सक्नेछन्।


विगतका वर्षहरूमा समेत नेपाली समुदायमा लोकप्रिय रहँदै आएको ‘नेपाली लेडिज साँझ’ नेपाली महिलाहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमताको प्रदर्शन गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै आएको छ। आयोजकहरूले यस वर्षको कार्यक्रमलाई अझ भव्य, व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिरहेको बताएका छन्।

उच्च माध्यमिक (High School) तथा कलेजका स्नातक विद्यार्थीहरूलाई सम्मान गर्ने र परिचयात्मक कार्यक्रम पनि रहेको र १५ बर्ष भन्दा माथिको अबिवाहित नारीहरुको लागी कम्पिलिमेन्टरी टिकटको व्यावस्था गरिएको छ । 

 

Loading...