
झरीलाई चुनौती दिँदै “Vote for Somnath” कार क्याराभान र्याली भव्य रूपमा सम्पन्न
मकै हाउस सामुदायिक मिडिया, अक्कल तामाङ
न्यूयोर्क, क्वीन्स, प्रतिकूल मौसम र निरन्तर वर्षाका बाबजुद “Vote for Somnath” अभियानअन्तर्गत आयोजित भव्य कार क्याराभान र्याली जुन २२ मा उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। र्यालीमा दर्जनौं सवारी साधन तथा ठूलो संख्यामा स्वयंसेवक, समुदायका अगुवा, युवा, महिला, व्यवसायी तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकहरूले बताएका छन्।

कार्यक्रम क्वीन्स बुलेभार्डस्थित 61st Street क्षेत्रबाट सुरु भई 69th Street, Grand Avenue, Queens Boulevard तथा Broadway हुँदै डाइभर्सिटी पुगेर समापन गरिएको थियो। र्यालीभरि सहभागीहरूले अभियानका झण्डा, ब्यानर तथा समर्थनका सन्देशहरू प्रदर्शन गर्दै समुदायमा उत्साह र एकताको सन्देश फैलाएका थिए।

वर्षाका कारण मौसम चुनौतीपूर्ण रहे पनि सहभागीहरूको जोश, प्रतिबद्धता र समर्थनमा कुनै कमी देखिएन। झरीमा समेत लामो कार कन्भोय र स्वयंसेवकहरूको सक्रिय उपस्थितिले समुदायमा सोमनाथ घिमिरेप्रतिको बढ्दो विश्वास र समर्थनलाई स्पष्ट रूपमा झल्काएको सहभागीहरूको भनाइ थियो।
र्यालीका क्रममा विभिन्न स्थानमा स्थानीय बासिन्दा तथा व्यवसायीहरूले हात हल्लाएर समर्थन जनाएका थिए भने धेरैले अभियानप्रति सकारात्मक चासो व्यक्त गरेका थिए। आयोजकहरूका अनुसार यो कार्यक्रम केवल चुनावी प्रचार मात्र नभई समुदायको एकता, सहभागिता र प्रतिनिधित्वप्रतिको सामूहिक प्रतिबद्धताको प्रदर्शन पनि थियो।
अभियानमा आबद्ध स्वयंसेवकहरूले जुन २३ मा हुने निर्वाचनको लागि जनसमर्थन उल्लेखनीय रूपमा बढिरहेको दाबी गरेका छन्। उनीहरूका अनुसार समुदायका विभिन्न वर्गबाट प्राप्त भइरहेको सकारात्मक प्रतिक्रिया र सक्रिय सहभागिताले सोमनाथ घिमिरेलाई विजयको नजिक पुर्याएको संकेत देखिएको छ।
कार्यक्रमपछि आयोजकहरूले सम्पूर्ण सहभागी, स्वयंसेवक, सहयोगी संस्था तथा शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गर्दै आज र भोली दिनभर पनि समुदायसँग प्रत्यक्ष भेटघाट, घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई थप तीव्र बनाइने जानकारी दिएका छन्।

“आजको झरीले हाम्रो उत्साह रोक्न सकेन। समुदायको एकता, विश्वास र सहभागिताले हामीलाई थप ऊर्जा दिएको छ। यो केवल एउटा र्यालीको सफलता होइन, समुदायको साझा आकांक्षा र सकारात्मक परिवर्तनप्रतिको प्रतिबद्धताको उदाहरण हो, आयोजक पक्षले जनाएको छ।
र्यालीको सफल आयोजनासँगै “Vote for Somnath” अभियानले क्वीन्स क्षेत्रमा थप गति लिएको सहभागीहरूको विश्वास छ। उपस्थित धेरै समर्थकहरूले समुदायको प्रभावकारी प्रतिनिधित्व, समावेशी नेतृत्व र सकारात्मक परिवर्तनका लागि सोमनाथ घिमिरेलाई समर्थन गर्न आह्वान गरेका थिए।
झरीमा पनि देखिएको उत्साह, स्वयंसेवकहरूको समर्पण र समुदायको उल्लेखनीय सहभागिताले सोमबारको कार क्याराभान र्यालीलाई क्वीन्सस्थित नेपाली समुदायको एकता र सक्रियताको स्मरणीय उदाहरणका रूपमा स्थापित गरेको छ।

