
“हिमानी ट्रस्ट ईन अमेरिका” समाजलाई ‘लाभ’ कि ‘हानी’?- अनील शाही, न्युयोर्क

मकै हाउस टिभी एण्ड न्युज,
अनिल शाही, न्युयोर्क । कसैले समाज सेवा गर्छु भन्ने भावना राख्नु र त्यसको प्रयास गर्नु आफैंमा सदा सराहनिय नै हुन्छ भन्ने कुरामा दुई मत नहोला । त्यसैलेसमाजको सेवा गर्ने “हिमानी ट्रस्ट” को घोषित अभिप्रायको म कदर गर्दछु । तर, अक्सर गरेर जान–अन्जान मै पनि हामी यस्तो गतिविधिमा लागि परेका हुन्छौं कि ति गतिविधि राम्रै अभिप्रायका साथ गरिंदा पनि त्यो हाम्रो लक्ष्य विपरित हुन्छ, त्यसले हामीलाई फाईदाको सट्टा बेफाईदा गरिरहेको हुन्छ।
“हिमानी ट्रस्ट” का अमेरिकामा गरिएका कार्यक्रमहरुका आयोजकहरु, संचालकहरु, समर्थक र सहभागीहरुका साथै हिमानी स्वयंले राम्ररी बुझ्नु पर्ने एउटा महत्वपूर्ण कुरो के हो भने, हाम्रो समाजको गरिबी, अभाव, र अन्य सामाजिक र राजनैतिक विकृतिका थुप्रैकारणहरुको मूल जड सामन्तवाद हो ।”
हाम्रो सोंच, व्यवहार र संस्कारहरु समग्रमा सामन्ती भएकै कारण हामी उँभो लाग्न सकेका छैनौं । शक्ति र पहुँचको आधारमा वर्गीकृतसामाजिक संरचना नै सामन्ती संरचना हो। सो संरचनामा अधिकांशलाई सिमान्तकृत गरिंदा नै नातावाद, कृपावाद, भ्रष्टाचार, चाकडीवादजस्ता सामाजिक विकृतिहरुको हावी बढ्छ। सो सन्दर्भमा, सच्चा र सार्थक सामुहिक भलाईको लागि सचेत वर्गले समाजलाई सक्दोसामन्ती संस्कारहरुबाट टाढा लाने प्रयास जारी राख्नु पर्छ। अनि सामन्ती संरचनाको सबभन्दा व्यापक रुपमा दैनिकी देख्न सकिनेसंस्कार हो, “मालिक” र “पराधिन” बीचको आपसी व्यवहार। हामीले सँधै प्रष्टै देख्दै आएका छौं कि चाहे कुनै राजनैतिक पार्टीका“नेता” भनाउँदाहरु प्रति होस्, या दरबारिया पात्रहरु प्रति, हामी मध्येका केहि अन्धो भक्तिका साथ व्यक्ति विशेषलाई देवत्वकरण गरेरआफुहरुलाई “दास” सरह उनीहरु समक्ष लम्पसार पार्छौं।
यो परिपेक्षमा, समाजको भलो गर्छु भनेर गरिएका “हिमानी ट्रस्ट” का कार्यक्रमहरुमा सामन्ती संस्कारको पराकाष्ठको छाडा प्रदर्शन गरिनुबिलकुल विवेकहिन र उद्देश्य विपरित थियो। जुन जडको कारण हामी पिछडिएका छौं, समस्याको समाधानको नाममा त्यही जड तर्फआम मानिसलाई धकेल्नु सरासर मूर्खता हो, या अनजान मै भए पनि मानिसहरुलाई मुर्ख बनाउने पापी चेष्टा हो।
नेपाली समाजको स्वच्छ र शुद्ध भलो चाहन्छन् भने “हिमानी ट्रस्ट” ले आफ्ना समर्थकहरुलाई स्वाधिनता र स्वतन्त्रता तर्फ उन्मुख गर्नु पर्छ– चाकडीवाद र लाम्पसारवाद तर्फ होईन। हैन भने चन्दा उठाएर उपलब्ध गराईएका केहि भौतिक सहयोगले नेपालीहरुको दीर्घकालीनभलो गर्न कदापि सक्दैन।
सायद हिमानी शाहले साँची कै समाजको भलो गर्ने उत्कृष्ट नमुना दिन चाहनु हुन्छ भने सामन्ती संस्कारलाई दुरुत्साहित गर्नुको अलावाअर्को एउटा सुझाव पनि दिन चाहन्छु। दुई सय पचास वर्ष सम्म तपाईंको पुर्खाले निमुखा जनतालाई शोषण गरेर अकुत सम्पति जोडेकासर्वविदितै छ। ति सबै सम्पतिको तपाईं एक्लो हकदार त अवश्य हुनुहुन्न, तर सक्नु हुन्छ भने केहि गतिलै रकम आफ्नै पारिवारिकढुकुटीबाट सो ट्रस्टमा हस्तान्तरण गरेर देखाईदिनुस् ।
