
न्युयोर्कको टाईम्स स्क्वायरमा हामी नेपाली ग्लोबलको स्थापना दिवस सम्पन्न
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । हामी नेपाली ग्लोवलले संयुक्त राज्य अमेरिकाको न्युयोर्क, टाईम्स स्क्वायरमा आफ्नो स्थापना दिवस मनाएको छ ।
गत डिसेम्बर १७ को दिन संस्थाका केन्द्रीय अध्यक्ष अमृत लामाको नेतृत्वमा स्थापना दिवस मनाइएको हो । संस्थाको स्थापना दिवस २४ नोभेम्बरमा भएपनि कारणवस डिसेम्बर १७ मनाइएको आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष, न्युयोर्कका मेयर एरिक एडम्सका साउथ एशियाली मामिला सल्लाहकार तथा कलेज प्वाइन्ट सिभिक एण्ड ट्याक्सपेयर एसोसियशनका सभापति नवराज केसीको स्वागत मन्तव्य रहेको थियो ।
स्वागतका क्रममा केसीले सस्थाको उद्धेश्य नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउनुका साथै अमेरिका लगायतका विभिन्न देशका पर्यटक नेपाल भित्राउनु रहेको बताए । साथै आवस्यकता अनुसार संसारभरी छरिएर बसेका नेपाली एकजुट भएर आ–आफ्नो कर्मभूमीमा स्थानीय सरकारसँग मिलेर समाज र समुदायको हितमा मिलेर काम गर्ने बताए । उनले अध्यक्ष लामाको स्वास्थ्यलाभको कामना समेत गरेका थिए ।

कार्यक्रममा संस्थाका सभापति लामाले नेपालीहरु जहाँ रहेपनि नेपाल र नेपालीको हितमा कामगर्नुपर्ने बताए । सभापति लामाले देशमा पर्यटक भित्राउन सकेमा वेरोजगार युवाहरुले रोजगार पाउने बताए । उनले संसारको सबैभन्दा अग्लो सगरमाथाको देश, बुद्धको देश, पशुपति देश र पर्यटन, कला संस्कृतिको धनी देश नेपालमा घुम्न जाउँ भनेर पर्यटकलाई नेपाल घुम्नका लागि आव्हान गर्न सबैमा अनुरोध गरेका थिए ।
कार्यक्रममा नेपालको झण्डाका साथै भिजिट नेपाल लेखिएको ब्यानरसहितको टोली डिएक्सएन एभरेष्ट सेन्टरबाट टाइम स्क्वाएर हुँदै ज्याक्शन हाइट डाइभर्सिटी प्लाजामा आएर रोकिएको थियो ।
कार्यक्रमका अबसरमा टाइम स्क्वाएरमा संस्थाका वरिष्ठ उपाध्यक्ष केसी, न्युयोर्क च्याप्टरका सभापति ध्रुव कुँवर र किराँत याक्थुङ चुम्लुङका सभापति सुमन थाम्सुहाले धन्यवाद दिएका थिए ।

त्यस्तै युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका न्युर्योक च्याप्टरका सभापति ममता खालिंग राई तथा कलाकार संघकी वरिष्ठ उपाध्यक्ष बसन्ती राई, हामी नेपाली ग्लोवल अमेरिकाका केन्द्रीय सदस्य साङ्गदुप्पा लामा, सल्लाहकार सदस्य केन्द्रीय सह-कोषाध्यक्ष पुशपति श्रेष्ठ, क्वीन्स काउन्टी डिष्ट्रीक्ट एटोर्नीका सल्लाहकार सदस्य श्याम कार्की तथा विभिन्न मिडिया, संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी दोस्रो चरणको कार्यक्रममा नायग्रा फल्समा आयोजित “नेपाल फेस्टिवल” कार्यक्रममा प्रायोजक तथा आयोजक सबैलाइ कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष लामाले संस्थाको अमेरिका च्याप्टर कार्यसमितिको नाम घोषणा गरेका थिए भने न्युयोर्कका लागि पर्यटन सद्भावनादूत केशवराम राई र हामी नेपाली ग्लोवललाई सिटी अफ न्युर्योक अफिस अफ द कम्पट्रोलर द्वारा सम्मान प्रदान गरिएको थियो ।

